प्रधानमन्त्री देउवा, ओली र प्रचण्डबीच भेटवार्ता सकियो
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच दुई घन्टा लामो छलफल सकिएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताहरूबीच आइतबार ४ बजेदेखि छलफल भएको हो।
उनीहरूबीच स्थानीय तहको निर्वाचन, अमेरिकी सहयोग परियोजना एमसिसी र संसद अवरोधलगायत विषयमा छलफल भएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।
एमसिसी सम्झौता अघि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सहयोग मागेका छन्। आज बालुवाटारमा करिब दुई घन्टा भएको छलफलमा प्रधानमन्त्री देउवाले एमसिसी अघि बढाउन प्रमुख प्रतिपक्षको सहयोग मागेका थिए।
बैठकमा सहभागी रहेका एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्री देउवाले आज अध्यक्ष ओलीलाई छलफलमा बोलाएको र स्थानीय चुनाव तथा एमसिसीलगायतबारे छलफल भएको बताए।
‘एमसिसीलगायत विगय अघि बढाउन सहयोग गर्नुपर्छ भन्ने प्रधानमन्त्रीको धारणा रह्यो,’ महासचिव पोखरेलले भने, ‘बैठकमा प्रचण्ड पनि हुनुहुन्थ्यो। उहाँले चुनावपछि मात्रै एमसिसी अगाडि बढाउन उचित हुन्छ भनेर भन्नुभयो। संसद खुलाउन प्रतिपक्षीले सहयोग गर्नुपर्दछ भन्नेखालका कुरा गर्नुभयो।’
एमालेले भने बैठकमा सत्तापक्ष नै एमसिसीबारे पहिले स्पष्ट हुनुपर्ने बताएको थियो। स्थानीय चुनाव समयमै हुनुपर्ने जोड एमालेको रहेको पोखरेलले बताए।
संसद खोल्नेबारे सभामुखको कदम सच्चिनुपर्ने भनाइ दोहोर्याएको पोखरेलले बताए । ‘हामी फेरि पनि आग्रह गर्न चाहान्छौं सभामुखबारे भएको कमजोरी सच्याउनुपर्यो,’ उनले भने, ‘१४ जना गैर सांसद संसदमा राख्ने कुरा अविलम्ब रोक्नुपर्छ ।’
पोखरेलले स्थानीय तहको चुनाव समयमै हुनुपर्छ भन्ने अडान एमालेले राखेको र यसमा प्रधानमन्त्रीले सकरात्मक जवाफ दिएको पनि बताए ।
बैठकमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमालेका महासचिव शंकर पोखरेल पनि सहभागी थिए। देउवा प्रधानमन्त्री बनेपछि देशका समसामयिक विषयमा संसदका तीन ठूला दलका शीर्ष नेताले सँगै बसेर छलफल गरेको यो पहिलो पटक हो।
एमाले अध्यक्ष ओलीले अहिलेको सरकारलाई परमादेशको सरकार भन्दै आलोचना गर्ने गरेका थिए। प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठक पनि एमालेले बहिष्कार गर्दै आएको थियो।
असार २९ गते देउवा प्रधानमन्त्री नियुक्त भएपछि अर्को दिन ओलीले बालुवाटार छोडेका थिए। सात महिनापछि ओली पहिलो पटक आइतबार बालुवाटार फर्किएका हुन्।
आइतबार बिहान नौ बजे प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको थियो । देउवा र प्रचण्डबीचको भेटवार्तामा एमसीसीबारे छलफल भएको थियो । प्रचण्डसँगको छलफलमा प्रधानमन्त्री देउवाले आगामी आगामी माघ २६ गते बुधबार बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गर्न जोड दिएका थिए । जवाफमा प्रचण्डले एमसीसीमा सहमति जुटि नसकेको भन्दै केही दिन पर्खन सुझाव दिएका थिए । देउवासँगको छलफलमा प्रचण्डले बरु प्रमुख प्रतिपक्षसँग पनि छलफल गरेर अघि बढ्दा उपयुक्त हुने धारणा राखेका थिए ।