जिम्मेवारी बाँडफाँड गर्दै माओवादी केन्द्र
काठमाडौ । महाधिवेसन सम्पन्न गरेको झन्डै दुई महिनापछि नेकपा माओवादी केन्द्रले पदाधिकारी चयन गर्न गृहकार्य सुरु गरेको छ ।
आगामी २७ माघमा बोलाईएको केन्द्रीय समिति बैठक अघि नै महासचिव लगायतका पदमा सर्वसम्मत गराउने गरी आन्तरिक गृहकार्य बढाएको हो ।
गत पुस ११–१९ मा सम्पन्न महाधिवेसनले २ सय ९९ मध्ये अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डससहित २ सय ३६ केन्द्रीय सदस्य चयन गरेर महाधिवेसन सम्पन्न गरेपनि पदाधिकारी चयन गर्न सकेको छैन । मुख्यतः महासचिवका दावेदार वर्षमान पुन उपचारका लागि चीनमा रहेका कारण पनि पदाधिकारी चयन नगरेको माओवादीले २७ माघमा केन्द्रीय समिति बैठक डाकेर पदाधिकारी चयन गर्न लागेको हो ।
माओवादीले गत महाधिवेसनबाट पारित गरेको विधान अनुसार बरिष्ठ उपाध्यक्ष, ७ जना उपाध्यक्ष, १ जना महासचिव, २ उपमहासचिव र बाँकी सचिव रहने गरी १५ सदस्सीय पदाधिकारी बनाउने छ ।
यसैगरी, बैठकले स्थायी समिति र पोलिटब्युरो र बाँकी रहेका खाली कोटामा केन्द्रीय सदस्य रहने गरी गृहकार्य गरेको हरिबोल गजुरेलले सञ्चारकर्मीलाई बताएका छन । उनका अनुसार स्थानीय तहको निर्वाचनमा लाग्नु पर्ने भएकाले आगमी केन्द्रीय समितिबाट नै बाँकी पदपूर्ति र समितिलाई पुर्णता दिने तयारीमा माओवादी केन्द्रले योजना बनाएको छ ।
निर्वाचन आयोगले ४ जेठ भित्रै स्थानीय तहको निर्वाचन गरिसक्नु पर्ने संवैधानिक र कानुनी बाध्यता रहेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराईसकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा सो बिषयमा सकारात्मक भए पनि गठबन्धन दलका अन्य नेता अन्यौलमा रहेका कारण अझै निर्वाचनको मिति तय हुन भने सकेको छैन ।