गृहमन्त्री खाँडको सिडिओहरुलाई निर्देशन, `सरुवाको दिन गनेर नबस्नुस´

निरन्तर न्यूज
२३ माघ २०७८, आईतवार ०८:२६

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले प्रमुख जिल्ला अधिकारीहरूलाई सरुवाको दिन गनेर नबस्न र आफ्नो दायित्व पुरा गर्न निर्देशन दिएका छन् । शनिबार भएको भर्चुअल बैठकमा गृहमन्त्रीले जिम्मेवारी लिँदासम्म प्रभावकारी काम गर्न निर्देशन दिएका हुन् ।

जिम्मेवारी राम्रोसँग पुर गरेमा मन्त्रालयले तोकिएको समयभन्दा बढी समयसम्म पनि प्रमुख जिल्ला अधिकारी बनाएर राख्न सक्ने भन्दै जुन दिनसम्म जिल्लामा बसिन्छ त्यस दिनसम्म प्रभावकारी काम गर्नु पर्ने बताए ।

‘प्रजिअहरुले आफ्नो जिल्लाको शान्ति सुरक्षाबारे ध्यान दिनुस्, वर्ष पुग्न यत्ति दिन छ भनेर गन्न नथाल्नुस्’ मन्त्री खाँणले भने–‘जुन दिनसम्म जिल्लामा बस्नुहुन्छ, त्यस दिनसम्म प्रभावकारी काम गरेको छाप छोड्नुपर्छ ।’

केही प्रमुख जिल्ला अधिकारीहरूले कोभिड–१९ बाट आफै सङ्क्रमित भएर पनि राम्रो काम गरेको भन्दै गृहमन्त्रीले धन्यवाद दिएका छन् । कतिपय जिल्लामा जिल्ला प्रशासन कार्यालयमा सेवा प्रवाह सुस्त भएको गुनासो आएको भन्दै गृहमन्त्री खाँणले जनतालाई समयमै सहज रूपमा सेवा प्रवाह गर्न निर्देशन दिए ।

पहाडी जिल्लामा सवारी दुर्घटना बढी रहेको उल्लेख गर्दै गृहमन्त्रीले दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्नतर्फ सजग रहन सबै प्रतिअहरूलाई निर्देशन दिए । भर्चुअल बैठकमा गृह सचिव टेकनारायण पाण्डेले जनताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर प्रशासन कार्यालयबाट प्राप्त हुने सेवा सुविधा सहज बनाउन निर्देशन दिए ।

सचिव पाण्डेले परिस्थितिअनुरूप कोभिड–१९ सम्बन्धी आदेशलाई पुनरावलोकन गर्न पनि निर्देशन दिए । बैठकमा एक प्रदेशबाट एक प्रमुख जिल्ला अधिकारीले वस्तुस्थितिबारे जानकारी गराएका थिए ।

प्रदेश–१ बाट मोरङका प्रजिअ काशीराज दाहाल, मधेस प्रदेशबाट पर्साका प्रजिअ उमेशप्रसाद ढकाल, बागमती प्रदेशबाट मकवानपुरका प्रजिअ भरतमणि पाण्डे, गण्डकी प्रदेशबाट कास्की जिल्लाका प्रजिअ जयराज आचार्यले रिपोर्टिङ गरेका थिए । लुम्बिनी प्रदेशबाट कास्की जिल्लाका प्रजिअ ऋषिराम तिवारी, कर्णाली प्रदेशबाट सुर्खेत जिल्लाका प्रजिअ खगेन्द्रप्रसाद रिजाल र सुदूरपश्चिम प्रदेशबाट कैलालीका प्रजिअ किरण थापाले प्रदेशको बस्तुस्थितिकाबारे रिपोर्टिङ गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*