एमसीसी पास गर्न प्रचण्डले अघि सारे नयाँ दुई विकल्प ?
काठमाडौं । संसदबाट एमसीसी परियोजना पास गर्नेबारे मतभेद् बढ्दै गर्दा सत्ता गठबन्धन धर्मराएको छ । यहि कारणले सत्ता गठबन्धन टुट्ने चर्चाहरु सुरु भएको छ ।
पाँच दलीय गठबन्धनमा रहेका दलहरुमध्ये नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसीसी परियोजना पास गर्नुपर्ने दौडमा लागेका छन् भने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी शंसोधन नगरी पारित गर्न नहुँने अडानमा रहेका छन् ।
सत्ता गठबन्धनको एक घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी परियोजनाबारे फेरि दुई विकल्प अघि सारेका छन् । गठबन्धनमा ती दुई विषयमध्ये एकमा सहमति कायम गराउने प्रयास भइरहेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।
पहिलो बिकल्पको रुपमा चुनावपछि मात्रै एमसीसी सम्झौता अघि बढाउने रहेको छ भने दोस्रो विकल्पको रुपमा सम्झौताका विषयवस्तु नै परिमार्जन गर्ने रहेको छ ।
बिहीबार चार घण्टासम्म चलेको माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी बैठकलाई भर्चुअल सम्बोधन गर्दै प्रचण्डले एमसीसी सम्झौतालाई आगामी चुनावपछि मात्रै अघि बढाउने लगभग समझदारी भएको जानकारी गराए ।
यस्तै बैठकमा उनले दोस्रो विकल्पको रुपमा सम्झौताका ‘कन्टेन्ट’ नै परिमार्जन गरेर अर्कै स्वरुपमा ल्याउने विकल्पमाथि छलफल भइरहेको बताए ।
एमसीसी संशोधन गरेर मात्रै पास गर्नुपर्ने आफूहरुको पार्टीको अडान रहेको भन्दै उनले तत्काल संशोधन गर्न अमेरिकाले नमाानेको र यस्तो बेला अब एमसीसी आगामी निर्वाचनपछि मात्रै अघि बढाउन प्रस्ताव गरिएको बताए ।
प्रचण्डले नयाँ जनादेशपछिको सरकारले एमसीसी अघि बढाउने विकल्पमा छलफल भइरहेको बताएका छन्।आगामी जेठमा स्थानीय तहको निर्वाचन तयारी भइरहेको छ। प्रचण्डले स्थानीय तह मात्रै, होइन तीनवटै निर्वाचनसम्म गठबन्धन कायम राखेर जाने सहमति जुटिसकेको छ।
भर्चुअल कार्यक्रममा माओवादीतर्फबाट सरकारमा रहेका दुई मन्त्री र दुई उच्च तहका नेताहरु पनि थिए। एमसीसी जस्ताको तस्तै पारित गरिए गठबन्धनबाट बाहिरिनुपर्ने दबाब पार्टीभित्रैबाट बढिरहेका उनले यस्तो भनेका हुन्।
एमसीसीलाई फरक ढंगबाट अगाडि बढाउनुपर्ने हुनसक्ने पनि प्रचण्डले बताएका छन्।