भारतमा पछिल्लो २४ घण्टामा १ हजार बढी काेराेना संक्रमितकाे मृत्यु
काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा एक लाख ६९ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।
यस अवधिमा एक हजार ५ जनाले ज्यान गुमाएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । अघिल्लो दिनको तुलनामा मृतकको संख्यामा ७१६ ले कमी आएको हो । बुधबारको तथ्यांक अनुसार एक हजार ७२१ ले कोरोनाका कारण ज्यान गुमाएका थिए ।
सोमबार देखि भारतमा दैनिक संक्रमित थपिने क्रम दुई लाख भन्दा कम हुन थालेको हो । पछिल्लो तथ्यांक अनुसार दुई लाख ५८ हजार भन्दा धेरैले कोरोनालाई पराजित गर्न सफल भएका छन् ।
हाल भारतमा सक्रिय संक्रमितको संख्या पन्ध्र लाख २५ हजारभन्दा बढी रहेको छ ।
कोरोनाको तेस्रो लहरमा भारतमा जनवरी २० मा सबैभन्दा धेरै संक्रमित (३ लाख ४७ हजार भन्दा बढी) थपिएका थिए । त्यसपछि भने नयाँ संक्रमित थपिने दरमा कमी आइरहेको छ । एजेन्सी ।