एमालेकाे प्रचार विभाग विस्तार
काठमाडाैँ । नेकपा एमालेले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग गठन गरेको छ । बुधवार भक्तपुरको गठ्ठाघरस्थित जर्मन होम्समा बसेको केन्द्रीय सचिवालय बैठकले प्रचार विभागमा ९ जना सदस्य मनोनीत गरेको हो ।
एमाले केन्द्रीय प्रचार विभाग प्रमुखमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र उपप्रमुखमा केन्द्रीय सदस्य बिष्णु रिजाल रहेका छन् । आज बसेकाे बैठकले ९ जना सदस्य थप गरेको छ ।
थपिएका सदस्यहरुमा गगन बिष्ट, प्रमोद दाहाल, गणेश बस्नेत, निर्मला शर्मा, उजिर मगर, टीका बिष्ट, चेतन अधिकारी, महेश दास र रोशन खडका रहेका छन् ।
बैठकले स्थानीय निर्वाचनमा केन्द्रित भइ केन्द्रीय र प्रदेशस्तरमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ। यस्तै, युवा, विद्यार्थी, महिला र किसानबाहेकका जनसंगठनका राष्ट्रिय अधिवेशनहरू तोकिएकै मितिमा गर्ने निर्णय भएको छ।
बैठकले पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका सुझावसहित पारित गरेको छ। बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, पार्टी स्कुल विभाग, सहकारी तथा गरिबी निवारण विभाग र स्थानीय तह विभागमा सदस्यहरू मनोनयन गरेको जनाइएको छ।
त्यस्तै बैठकले ७७ वटै जिल्ला कमिटीहरुमा आइटी विज्ञ नियुक्त गर्ने भएको छ । केन्द्रीय कार्यालयसँग प्रत्यक्ष जोडिनका लागि हरेक जिल्लाका पार्टी कार्यालयमा आइटी विज्ञ राख्ने निर्णय भएको प्रचार विभाग प्रमुख एवम् पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए ।
‘केन्द्रीय कार्यालयसँग प्रत्यक्ष जोडिनका लागि हरेक जिल्लाका पार्टी कार्यालयमा आइटी विज्ञ राख्ने निर्णय भएको छ’ उनले भने । फागुन र चैत महिनासम्म सदस्यता वितरण र नवीकरण गर्ने निर्णय सचिवालय बैठकले गरेको छ ।
प्रदेश र जिल्लामा नवीकरण र अद्यावधिक पनि गरिने उनले बताए । नियमावली अनुसार पार्टी सदस्यता शुल्क केन्द्रमा ४०, प्रदेशमा ३० जिल्ला २५ र पालिका १० प्रतिशत राख्ने निर्णय भएको उनले जानकारी दिए ।