निर्वाचन सरकारको स्वेच्छाको विषय हुन नसक्ने : केपी ओली

निरन्तर न्यूज
१९ माघ २०७८, बुधबार १५:३०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा जेठ ४ भित्र स्थानीय तहको चुनाव गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीचको छलफलमासमेत जेठ ४ मा स्थानीय तहको चुनाव गर्ने समझदारी बनेको छ ।

बुधबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन सरकारको स्वेच्छाको विषय हुन नसक्ने भएकाले उक्त मितिमा चुनाव गर्नुपर्ने बाध्यता रहेको बताए ।

संविधानको सहि कार्यन्वयन उत्तर दायित्व निभाउने हो भने फागुनभित्र निर्वाचन गरिसक्नुपर्ने भन्दै उनले यस सम्बन्धमा आफूहरुले पटक–पटक सरकारलाई ध्यानकर्षण गराएको बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमा स्थानीय निर्वाचन गर्नैपर्ने ‘तर सरकार संविधान कार्यन्वयन र लोकतान्त्रिक अभ्यास, संघीयताको कार्यन्वयन गर्नुभन्दा पनि सत्ता स्वार्थमा केन्द्रित भएको बताए ।

उनले सरकारमा रहेका पार्टी र तिनका नेताहरुले ७९ चैत्रमा निर्वाचन गर्छौ भन्ने खालका बकवास गरिरहेको आरोप लगाए । यस्तै उनले पाँच दलीय गठबन्धनले देशलाई ओरालो लगाएको आरोप लगाएका छन् ।

वर्तमान सरकारलाई देशको चिन्ता नभएकाले देशलाई गठबन्धनले ओरालो यात्रामा पुर्याएको भन्दै उनले पाँच दलीय गठबन्धनले देशलाई ओरालो लगाएको आरोप लगाए ।

यो गठबन्धनले विनाशतर्फ धकेलेको भन्दै उनले आर्थिक अराजकता, अनियमितता र बेथितितर्फ धकेलेको बताए । जनताप्रति सरकार र गठबन्धन अनुत्तरदायी बन्दै शिक्षा, स्वास्थ्य र आर्थिक अवस्था समेत डामाडोल बनाएको ओलीको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*