देउवा भेट्न बालुवाटार पुगे प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री र अध्यक्ष दाहालबीच अहिले बालुवाटारमा छलफल भइरहेको छ। प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच भेटवार्ता जारी रहेको बताए।
स्थानीय तहको निर्वाचन, एमसीसी लगायतका विषयमा छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन्। पछिल्लो समय एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धन दलहरूकाबीचमा नै मत भिन्नता देखिएको छ।
प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी अगाडि बढाउने पक्षमा देखिएका छन् भने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसी संशोधन नगरी कार्यान्वयन गर्न नसकिने अडानमा देखिएको छ।
त्यस्तै एमसीसीका कारण सत्ता गठबन्धनमा खटपट भइरहेका बेला गृहमन्त्री बालकृष्ण खाण बिहान साढे १० बजे नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट्न उनको निवास कोटेश्वर पुगेका छन्।
मन्त्री खाण सवा ११ बजे बाहिरिएका थिए । एमसीसीलाई संसदबाट अनुमोदन गराउन प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनभित्रैबाट सहयोग पाएका छैनन् ।
यसअघि शीर्ष तहमा एमसीसी संसदबाट संकल्प प्रस्तावसहित पारित गर्ने समझदारी भए पनि माओवादी र नेकपा एसभित्र विरोध छ । प्रचण्ड र माधव नेपालले १० दिन समय मागेकामा अब एक साता बाँकी छ ।
प्रधानमन्त्रीले फेब्रुअरी २८ भित्र संसदबाट एमसीसी पारित गर्न खोजेका छन् । सत्ता गठबन्धनका नेता मनाउनेक्रममा खाणलाई कोटश्वर पठाएको बालुवाटार स्रोतले जनाएको छ ।