मन्त्री परिषद्का निर्णय सार्वजनिक
काठमाडौं । मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आज मन्त्रिपरिषद्ले सोमबार गरेको निर्णयहरु सार्वजनिक गरेका हुन्। बैठकले कच्चा दूधको न्यूनतम मूल्य ५६.४ रुपैयाँ निर्धारण गरेको छ ।
यस्तै बैठकले विश्व बैंकको १८ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गरेको छ भने ‘सफा हिमाल अभियान २०२२’ मा खटिने नेपाली सेनाका सदस्यहरूलाई हिमाल आरोरण गर्दा लाग्ने दस्तुरमा छुट दिने निर्णय गरेको छ ।
बैठकले शिक्षक अस्पताल निर्माणका लागि सैद्धान्तिक स्वीकृतिसमेत प्रदान गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
त्यस्तै, बैठकले खुला विश्वविद्यालयको उपकुलपतिमा शिलु मानन्धरलाई नियुक्त गरेको छ भने नेपाल टेलिभिजनको अध्यक्षमा जाजरकोटका समीरजंग शाहलाई नियुक्त गर्ने निर्णय भएको मन्त्री कार्कीले जानकारी दिए ।
मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्रालयका सहसचिव रामेश्वर दंगाललाई सचिवमा बढुवा गर्नेसहित बढुवा समितिको सिफारिसबमोजिम कर्मचारीहरूको बढुवा गर्ने निर्णय गरेको छ ।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षमा आइतबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेको विशिष्ठ श्रेणीको पद (सचिव)मा बढुवाका लागि ३ जना प्रथम श्रेणीका अधिकृत (सहसचिव)को नाम सिफारिस गरेको थियो।
समितिले सचिवमा बढुवाका लागि पहिलो नम्बरमा दंगाल, दोस्रो नम्बरमा मुकुन्दप्रसाद निरौला र तेस्रो नम्बरमा विनोदप्रकाश सिंहको नाम सिफारिस गरेको थियो। मन्त्रिपरिषद् बैठकले पहिलो नम्बरमा सिफारिस भएका दंगाललाई सचिवमा बढुवा गरेको हो।
यस्तै नेपाल टेलिभिजनको अध्यक्षमा समीरजंग शाह नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद बैठकले शाहलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। शाह नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनको पूर्वअध्यक्ष हुन्।
यस्तै भोलि बुधबार देशभर सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा भोलि १९ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले सूचना निकालेर भोलि १९ गते नेपालभर सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था बन्द रहने जानकारी दिएको छ ।