एमसीसीबारे ओली सरकारले लुकाएका गोप्य दस्तावेजबारे झलनाथको खुलासा
काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल एमसीसी अध्ययन कार्यदलका संयोजकसमेत हुन् । एमसीसी सम्झौता संशोधनबिना कुनै हालतमा अनुमोदन गर्न नहसने उनको पहिलेदेखिकै अडान हो ।
एमसीसीबारे फेरि नयाँ बहस सुरु भएसँगै यसबारे विभिन्न कोणबाट रहस्य खुल्न थालेको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले तत्कालीन केपी ओली नेतृत्वको सरकारले गुपचुप रुपमा राखेका एमसीसीसम्बन्धी दस्ताबेज भेटिएको रहस्य खुलाएका छन् ।
कार्यदलले खोजबिनका क्रममा नौवटा नयाँ दस्तावेज फेला पारेको र त्यसको गहिरो अध्ययनपछि मात्रै एमसीसीबारे निष्कर्ष निकाल्न सकिने उनले बताएका छन् । फेला परेका आठ नौ सय पृष्ठका ती दस्तावेज गहिरो अध्ययन जरुरी रहेको भन्दै उनले प्राप्त दस्तावेजका आधारमा कार्यदलका सदस्यहरुले एमसीसीबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत मौखिक जानकारी गराइसकेको बताए ।
एमसीसीबारे सहमति भयो भन्ने प्रचार नियोजित रहेको भन्दै उनले एमसीसीमा फरक फरक धारणा रहेपनि गठबन्धन कुनै हालतमा नटुटने स्पष्ट गरे । एमसीसी सम्झौता भएको नै पाँच वर्ष वितिसकेको र यो ५ वर्षसम्म आफूहरुले सार्वजनिक रुपमा सवै दस्तावेज प्राप्त गर्न नसकेको भन्दै उनले अहिले भर्खरमात्र नौ वटाजति दस्तावेज प्राप्त भएकाले थप अध्ययनको जरुरी रहेको उनले बताए ।
उनका अनुसार इन्भाइरोमेन्टल एण्ड सोसियल मेनेजमेन्ट प्लान, सोसियल जेनेरल इन्टिग्रेसन प्लान, इक्वीपमेन्ट एजेन्ट एग्रिमेन्ट, प्रोजेक्ट कोअपरेशन एग्रिमेन्ट, डीपीआर अफ ट्रान्समिसन लाइन प्रोजेक्ट, डीपीआर अफ रुट प्रोजेक्ट, र स्टेप पार्टनरसिप एग्रिमेन्ट फेला परेको हो ।
केपी ओली नेतृत्वको सरकारसँग यो दस्तावेज पटक पटक माग गरिएको तर उनीहरुले यो दस्तावेज नदिएको भन्दै उनले यी दस्तावेजहरु यसो हेर्दाखेरि आठ नौ सय पृष्ठका रहेका र अब ती दस्तावेजहरु गम्भीरतापूर्वक अध्ययन नगरीकन एउटा निचोडमा पुग्न नसकिने उनले बताए ।
प्राप्त भएका दस्तावेजहरुबारे कार्यदलका तीनै जनाले प्रधानमन्त्रीलाई आफ्नो कुरा बताइसकेका र यी सवै चिजहरू अध्ययन गरेरमात्रै निचोडमा पुग्न सकिने र हाम्रै बीचमा, दृष्टिकोणमा र कतिपय विश्लेषणहरुमा निकै ठूलो भिन्नता रहेको हुनाले तत्कालै समस्याहरु समाधान भएर एक ठाउँमा पुगिने सम्भावना नभएको उनको तर्क छ ।
गठबन्धनमा एमसीसी अघि बढाउने सहमति भयो भनेर प्रकाशित भएका खबरहरुबारे उनले यो नितान्न प्रायोजित भएकोसमेत बताए । शनिबार बालुवाटारमा प्रधानमन्त्री सहित बसेको बैठकमा एमसीसी अघि बढाउने कुनै सहमति नभएकोसमेत उनले बताए ।
प्रधानमन्त्री देउवाले अलि अगाडिदेखि नै एमसीसी पास गरौँ भन्ने मत राखेको भन्दै उनले पाँच दलको बिचमा सहमति नगरी कुनैपनि विषयवस्तु अगाडि बढ्न सक्दैन भन्ने कुरा देउवालाई राम्रोसँग थाहा भएको बताए ।
एमसीसीको थप गहिरो अध्ययन गर्नुपर्ने र आफूह्रुको अध्ययन नै नपुगेको भन्दै उनले भर्खर प्राप्त भएका ९ वटा दस्तावेजहरु अध्ययन गर्न समय लाग्ने बताए । फेब्रुअरी १ लाई अमेरिकनहरूले अन्तिम डेट भनेका र त्यो डेटसम्म पनि नेपालले अनुमोदन गरेन भने एमसीसी फिर्ता लैजान्छौँ भन्ने कुरा हल्ला मात्रै भएको भन्दै उनले यसअघि पनि धेरै पटक यो हल्ला चलेको बताए ।
अहिले नेपाल विकासको जुनस्तरमा छ, कुनैपनि विकसित मुलुकहरुबाट संयुक्त राष्ट्र संघले गरेको निर्णय बमोजिम सहयोग प्राप्त गर्ने कुरा नेपालीहरुको हकको कुरा भएको भन्दै उनले अमेरिकाले दिने सहयोगभित्र पनि नेपालको हक लाग्ने त्यो नेपालको राष्ट्रिय हित अनुकुल नेपालको स्वतन्त्रता र सार्वभौमसत्तालाई सम्मान हुने ढंगले प्राप्त हुनुपर्छ भन्ने आफूहरुको भनाइ रहेको बताए ।