जनादेशलाई खण्डित गर्ने षडयन्त्रको अन्तिम भोज : एमाले महासचिव
काठमाडौं । राष्ट्रियसभा सदस्यको निर्वाचनपछि पाँच दलीय सत्ता गठबन्धनको अन्मित भोज भएको एमालेले विश्लेषण गरेको छ। गठबन्धनभित्रकै अन्तर्घातको काररणले प्रदेश १ मा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उम्मेदवार सोनाम गेल्जेन शेर्पा विजयी भएपछि यस्तो टिप्पणी गरेको हो।
निर्वाचनको मतपरिणामपछि महासचिव शंकर पोखरेलले लेखेका छन्, ‘राष्ट्रिय सभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने षडयन्त्रको अन्तिम भोज बन्न पुगेको छ । बहुमतको वामपंथी सरकार ढालेर कांग्रेसलाई सरकारको नेतृत्व सुम्पेको नजराना स्वरुप यस चुनाव मार्फत प्रचण्ड र माधव नेपालहरुले आफ्नो दलिय हैसियत भन्दा अतिरिक्त लाभ हासिल गरेका छन् ।’
निर्वाचनमा पाँच दलिय गठवन्धनका उम्मेद्वारले गठवन्धनको मतभारभन्दा कम मत प्राप्त गरेको उल्लेख गरेको छ। एमालेका अधिकांश उम्मेद्वारले आफ्नो दलिय भोटभन्दा बढी मत प्राप्त गर्न सफल भएको उनको भनाइ छ।
‘स्थानिय तहका जनप्रतिनिधिहरुको अतिरिक्त भोट एमालेका उम्मेद्वारलाई प्राप्त भएको छ । यसबाट स्थानीय तहलाई कमजोर बनाउने गठवन्धनको प्रयासप्रति सत्तापक्षका जनप्रतिनिधिको असन्तुष्टि प्रकट हुन खोजेको छ’ उनले लेखेका छन्, ‘गठवन्धनका अन्य उम्मेद्वारको तुलनामा नेपाली कांग्रेसका उम्मेद्वारले सबै प्रदेशमा कम भोट पाएका छन् ।’
यस निर्वाचनपछि पनि राष्ट्रिय सभामा एमाले पहिलो दलको हैसियतमा कायमै भएको उल्लेख गरेका छन्। अब हुने सबै निर्वाचन प्रत्यक्ष हुने भएकोले गठवन्धन कमजोर हुने र एमाले थप सुदृढ हुने आधार समेत यस निर्वाचनले संकेत गरेको दाबी गरेका छन्।
परिणाम प्रतिकुल हुने निश्चित जस्तै रहेको अवस्थामा पनि उत्साहपूर्वक एमालेका उम्मेद्वारका पक्षमा मतदान गर्ने सबै जनप्रतिनिधिहरुलाई धन्यवाद व्यक्त गरेका छन्।