एमाले मकवानपुरको सपथ सम्पन्न
हेटौंडा । नेकपा एमाले मकवानपुरका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुले मंगलबार पद तथा गोपनियताको सपथ लिएका छन् ।
अध्यक्षका अर्का प्रत्यासी एवं निवर्तमान जिल्ला अध्यक्ष बद्रीप्रसाद लम्सालले आफ्नो उम्मेद्वारी फिर्ता लिएसँगै मंगलबार सपथग्रहण गराइएको हो ।
एमाले जिल्ला अधिवेशनका निर्वाचन प्रमुख अर्जुन अर्यालले नवनिर्वाचित जिल्ला अध्यक्ष एकलाल श्रेष्ठलाई सपथग्रहण गराएका थिए । यस्तै अध्यक्षको सपथग्रहण पछि अध्यक्ष श्रेष्ठले जिल्ला उपाध्यक्ष लालबहादुर थापा, सचिव नविन सिग्देल, उप–सचिवहरु हिदम लामा तथा सिता विष्ट र सदस्यहरुलाई सपथग्रहण गराए ।
सपथग्रहण कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष लम्सालले आफु सहमतिको वाधक कहिलेपनि नभएको र एमालेको नयाँ कमिटिले एमाले मकवानपुरलाई थप उचाई प्रदान गर्नेमा आफु विश्वस्त रहेको बताए । उनले यसअघि सर्वसहमतिको नाममा जवरजस्ति गर्न खोजिएको भन्दै विरोध जनाएका थिए ।
गत पुस २३ र २४ गते सम्पन्न नेकपा एमाले मकवानपुरको ११औँ जिल्ला अधिवेशनले अध्यक्ष एकालाल श्रेष्ठको नेतृत्वमा १ सय ५ सदस्यीय जिल्ला कमिटि निर्विरोध चयन गरेको थियो । अन्य पदमा उम्मेदवारी दिएकाहरुले भने सामाजिक सन्जालमा असन्तुष्ट पोखेको देखिए पनि लिखित गुनासो नआएको एक नेताले बताए ।