माओवादी महासचिव दाबी गरेका पुन पुगे प्रचण्ड भेट्न खुमलटार

निरन्तर न्यूज
११ माघ २०७८, मंगलवार ११:०२

काठमाडौ । बिदेशमा लामो समयको उपचारपछि सोमबार मात्र स्वदेश फर्केका नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अध्यक्ष प्रचण्ड भेट्न आज बिहानै खुमलटार पुगेका छन्।

सोमबार मात्र स्वदेश फर्केका पुन अध्यक्ष प्रचण्ड भेट्न बिहानै प्रचण्डको निवास (खुमलटार) पुगेका हुन्। त्यस क्रममा अध्यक्ष प्रचण्डले उनको पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन्।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लनासाथ पुनले आफू नेकपा माओवादी केन्द्रको महासचिव पदको स्वाभाविक दाबेदार भएको बताएका थिए।

महासचिवमा आफ्नो दाबेदारी प्रस्तुत गर्दा पार्टीभित्रको सहमतिलाई पनि स्वीकार गर्ने नेता पुनले बताए । ‘छलफल हुँदै गर्दा कहाँनेर फिट हुने भन्ने कुरा समझदारीबाट गर्न सकिन्छ भन्ने मलाई लाग्छ,’ उनले भने ।

उनले सहमतिमा भए पनि र निर्वाचनमा भए पनि आफू सहभागी हुने बताए । ‘सकेसम्म सहमतिमा हुन्छ म मान्छु, प्रतिस्पर्धात्मक जस्तो, आन्तरिक जनवाद प्रयोग हुने हो भने म पनि सहभागी हुन्छु । मैले त्यो अवसर पाउनुपर्छ ।’ नेता पुनले भने।

नेता वर्षमान पुनले आफूलाई थाइल्यान्डबाट अचेत अवस्थामा चीन लगिएको बताएका छन्। बैंककमा कलेजोको वंशाणुगत रोगको उपचार हुन नसकेपछि आफूलाई पार्टी अध्यक्ष प्रचण्डसहितको पहलमा चीन लगिएको पनि उनले बताए।

पूर्वमन्त्री पुन ४ महिना लामो उपचार सकेर आज नेपाल फर्किएका हुन्। उनी सोमबार साँझ ८ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेका थिए।

क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ वंशाणुगत जण्डिसबाट ग्रसित पुन पुस २० गते मंगलबार अपराह्न सेनजेनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनबाट डिस्चार्ज भएका थिए। २२ गते फेरि अस्पताल पुगेका उनलाई चिकित्सकहरुले राम्रो सुधार भएको भन्दै केही दिन आराम गर्न सुझाव दिएका थिए।

त्यसपछि केही समय चीनमै बसेर फलोअप गएका नेता पुनले आफू पूरै निको भएको बताए। पुनको चीनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा ३९ दिन र बैंककमा ५९ दिन लामो उपचार भएको थियो।

नेकपा माओवादी केन्द्रको हालै सम्पन्न आठौं महाधिवेशनले केन्द्रीय कमिटी र अध्यक्ष चयन गरे पनि महासचिवलगायत अन्य पदाधिकारी चुन्न बाँकी छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*