जसपालाई गौर घटनासँग कतै नजोडौ : डाक्टर भट्टराई
काठमाडौ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले जसपालाई गौर घटनासँग नजोड्न आग्रह गरेका छन् ।
जसपाबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेकी रेणु यादवले बुधबार डा.सिके राउतलाई लक्षित गरेर ज्यान मार्ने अभिव्यक्ति दिएकी थिइन् । उनले अर्को गौर घटना घट्ने बताएकी थिइन् ।
मन्त्री यादवको सो अभिव्यक्तिको यतिखेर चौतर्फी विरोध भइरहँदा जसपाका अध्यक्ष डा.भट्टराईले भने जसपालाई गौर घटनासँग नजोड्न सामाजिक सञ्जालमार्फत् शनिबार आग्रह गरेका छन् ।
‘जानेररनजानेर कसैले पनि त्रासदीपूर्ण गौर नरसंहारको आदर्शीकरण नगरौं,’अध्यक्ष डा.भट्टराईले भने, ‘मधेसीका विरूद्ध मधेसी लडाउने र माओवादी जनयुद्ध र मधेस जनविद्रोहलाई एकअर्काका पूरक बनाउनु सट्टा एकअर्का विरूद्ध भड्काएर क्रान्तिकारी शक्ति कमजोर पार्ने सो अप्रिय अध्यायको अन्त्य हुनैपर्छ । जसपालाई त्योसँग कतै नजोडौं ।’