मधेस प्रदेश : एमाले र लोसपाबीच गठबन्धन गर्ने
जनकपुर । राष्ट्रिय सभा निर्वाचनमा मधेस प्रदेशमा विपक्षी दलबाट नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच गठबन्धन गर्ने सहमति भएको छ ।
सहमतिअनुसार अन्यतर्फ एमालेका उम्मेदवार उसमान अन्सारी र महिलातर्फ लोकतान्त्रिक समाजवादी पार्टीकी उम्मेदवार रुपाकुमारी यादवलाई दुबै पार्टीले एकअर्कालाई मतदानमा सघाउनेछन् ।
बिहीबार भएको सहमतिमा एमालेका मधेस प्रदेश अध्यक्ष राम औतार यादव र लोसपाका प्रदेश अध्यक्ष जितेन्द्र सोनलले हस्ताक्षर गरेका छन् ।
दुई पार्टीबीच गठबन्धन भएपनि यसअघि नै सत्तारुढ गठबन्धनमा काँग्रेस, माओवादी केन्द्र र जसपाबीच गठबन्धन भइसकेको छ। प्रदेश दुईमा दुई गठबन्धन बनेपनि सत्ता गठबन्धन बलियो अवस्थामा रहेको छ। राष्ट्रिय सभा निर्वाचन माघ १२ गते हुँदैछ।
मधेश प्रदेशमा एमालेबाट विना देवी र पर्साका उसमान अन्सारीले उम्मेदवारी दिएका थिए। त्यस्तै लोसपाबाट महोत्तरीकी रुपाकुमारी यादवको उम्मेदवारी परेको थियो। यस्तोमा लोसपासँगको गठबन्धनपछि एमालेकी विनादेवीले उम्मेदवारी फिर्ता लिएकी छन्।
अब एमालेबाट अन्यतर्फ उसमान अन्सारी र लोसपाबाट महिलातर्फ रिता यादवको उम्मेदवारी कायम भएको छ। त्यस्तै सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उर्मिला अर्याल, जनता समाजवादीका महमद खालिदको उम्मेदवारी परेको छ।
यो प्रदेशमा १ सय ४ प्रदेशसभा सदस्य छन्। जसमा जसपा ३९, लोसपा १६, एमाले ८, कांग्रेस १९, एकीकृत समाजवादी १३, माओवादी ८ र नेपाल संघीय समाजवादी पार्टी १ छन्।
मधेसमा प्रदेश सभा सदस्यको मतभारअनुसार एमालेसँग मात्रै ३ सय ८४ मात्र छ। यहाँ गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय ६८ जना छन्। जसअनुसार प्रदेश २ मा कुल मतभार ९ हजार ८ सय १६ छ।