तोकिएको समयमा चुनाव नहुने, नयाँ मिति घोषणाको तयारी

निरन्तर न्यूज
६ माघ २०७८, बिहीबार १०:००

काठमाडौं । निर्वाचन आयोगले वैशाख २२ र २८ गतेको मिति तय गर्दै स्थानिय तहका निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव दिने भएको छ ।

यसअघि दिईएको बैशाख १४ र २२ मा स्थानिय तहको निर्वाचन गराउन सरकारले नसकेमा दोस्रो विकल्पको रुपमा २२ र २८ बैशाखको मिति प्रस्ताव गर्ने तयारी गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाले बताए ।

आयोगले एकै चरणमा भए वैशाख १४ मा निर्वाचन गर्न र दुई चरणमा गर्ने भएमा २२ बैशाख उपयुक्त हुने धारणा राखेको हो । आयोगका आयु्क्त थपलियाले भने, ‘हामीले जेठ ५ गते स्थानिय तहको अन्तिम म्याद रहने र म्याद थप गर्ने संवैधानिक व्यवस्था नभएकाले सो मिति भित्रै निर्वाचन गराउन सुझाव दिईसकेका छौं ।’ उनका अनुसार बैशाख २२ मा एकै चरणमा गर्न नसके सरकारका लागि २७ र २८ बैशाखको मिति प्रस्ताव गर्न लागिएको हो ।

यस्तै सरकार सञ्चालनमा सहयोग गर्न गठन भएको कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको राजनीतिक समन्वय समितिको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बस्ने बैठकमा निर्वाचनलगायत विषयमा छलफल केन्द्रीत हुने एक नेताले बताएका छन् ।

निर्वाचन ऐन संशोधन, तीनै तहका निर्वाचन तथा स्थानीय निकायको निर्वाचन पहिला गरेर पछि संसद र प्रदेशसभाको निर्वाचन गर्ने प्रस्ताव आजको बैठकका मुख्य एजेण्डा रहेको नेताहरुको भनाइ छ । आगामी जेठ ५ गते स्थानिय तहको म्याद सकिने र संविधान अनुसार म्याद थप गर्न नपाउने व्यवस्थालाई मध्ये नजर गर्दै सत्तारुढ दलको बैठक बस्न लागेको हो ।

निर्वाचन आयोगले सरकारले माघ पहिलो साताभित्र स्थानीय तहको म्याद तोकिदिन आग्रह गरेपछि मंगलवार बसेको बैठकले कुनै निष्कर्ष दिन नसके पनि बिहीवार पुनः बैठक बस्न लागेको हो ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच हिजो भेटवार्ता भएको थियो । भेटघाटको क्रममा स्थानीय तहको निर्वाचनको मिति तोक्ने लगायतका विषयमा छलफल भएको स्रोतले बतायो।

स्थानीय तहको निर्वाचनको मिति तोक्ने सत्ता गठबन्धनलाई टाउको दुखाइको विषय बनेको छ। मंगलबार बसेको सत्ता गठबन्धको बैठकले वैशाखमै निर्वाचन गर्ने सहमति भए पनि मितिको टुंगो लगाउन सकेको छैन। सोही विषयमा छलफल गर्न प्रधानमन्त्री निवासमा बालुवाटारमा भएको छलफलमा चुनाव केन्द्रीत वार्ता भएको बताइएको छ।

‘प्रधानमन्त्री देउवा र प्रचण्डबीच स्थानीय तहको निर्वाचन केन्द्रीत छलफल भएको हो। वैशाखमै गर्नुपरे कति गते गर्ने वा सार्नपरे कहिलेलाई सार्ने विषयमा छलफल केन्द्रीत रहेको थियो,’ खुमलटार स्रोतले भन्यो। प्रधानमन्त्री देउवा र प्रचण्डबीच गम्भीर छलफल भएको बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*