एनआरएनएको चुनाव गर्न घलेको संयोजकत्वमा उच्चस्तरीय समिति गठन

निरन्तर न्यूज
२ माघ २०७८, आईतवार ०७:३२

काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनाव सम्पन्न गर्नका लागि पूर्वअध्यक्ष शेष घलेको संयोजकत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको छ ।

शनिबार अध्यक्ष कुमार पन्तको अध्यक्षता बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को ८१औँ बैठकले निष्पक्ष र पारदर्शी रुपमा निर्वाचन कार्यक्रम अघि बढाउन भन्दै समिति गठन गरिएको हो । सोही समितिलाई महाधिवशेन प्रतिनिधिमा देखिएका असन्तुष्टीहरुलाई सम्बोधन गर्न जिम्मेवारी पनि दिइएको छ ।

समितिका सदस्यहरुमा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, संरक्षकहरु देवमान हिराचन, जीवा लामिछाने, भवन भट्ट, राम प्रताप थापा र वर्तमान अध्यक्ष कुमार रहेका छन् । उच्चस्तरीय समितिले संघको विधान अनुरुप २६ जनवरी २०२२ सम्म महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली तयार गरि संघका अध्यक्ष कुमार पन्तमार्फत निर्वाचन समिति समक्ष पेश गर्नेछ ।

बैठकले मिति २८ फेब्रुअरी २०२२ तारिखमा अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरुको निर्वाचन गर्ने निर्णय समेत गरेको प्रवक्ता डीबी क्षेत्रीले जानकारी दिए ।
बैठकले आगामी १० औं महाधिवेशनमा पेश हुने महासचिव डा हेम राज शर्माको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठको आर्थिक प्रतिवेदनलाई पारित गरेको पनि उनले बताए ।

महाधिवेशनमा मतदान तथा उम्मेदवार बन्नको लागि अति आवश्यक र अनिवार्य फेसभेरिफिकेसन (सेल्फी रजिष्ट्रेशन) गर्न पनि एनआरएनएले सबै महाधिवशेन प्रतिनिधिहरुलाई अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*