भारतले नेपालसँगको सीमा विवादबारे आफ्नो धारणा राख्यो
काठमाडौ । भारतले नेपालसँगको सीमा विवादबारे आफ्नो धारणा नेपाल सरकारलाई जानकारी गराइसकेको बताएको छ । साथै संवादका लागि अन्तर सरकारी संयन्त्र उपयुक्त माध्यम भएको समेत उसले बताएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक विस्तार गरिरहेको बताएपछि नेपालमा आलोचना भएको छ । सत्तारुढ तथा प्रतिपक्षी दलहरुले भारतसँग कूटनीतिक संवाद गर्न र सडक विस्तार तत्काल रोक्न सरकारलाई आग्रह गरेका छन् । सरकारले भने यसबारे औपचारिक रुपमा बोलेको छैन ।
काठमाडौंस्थित भारतीय दूतावासले शनिबार वक्तव्य जारी गर्दै नेपाल भारत सीमाबारे भारत सरकारको धारणा सर्वविदित, स्थिर र प्रष्ट भएको बताएको छ ।
त्यो धारणा नेपाल सरकारलाई जानकारी गराइसकेको भन्दै भारतीय दूतावासको प्रवक्ताको वक्तव्यमा भनिएको छ, ‘हाम्रो विचारमा स्थापित अन्तर सरकारी संयन्त्र र च्यानलहरु नै संवादका लागि उपयुक्त माध्यम हुन् ।’
साथै घनिष्ठ र मैत्रिपूर्ण द्वीपक्षीय सम्बन्धको भावनाका आधारमा सीमा सम्बन्धी विषय सम्बोधन गर्न सकिने समेत भारतीय दूताबासले बताएको छ ।
मोदीको उक्त अभिव्यक्तिलाई लिएर काठमाडौंको राजनीतिक र कूटनीतिक वृत्त तरंगित बनेको छ । सत्तारुढ दल कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र, मुख्य प्रतीपक्षी एमाले, राप्रपा, विवेकशील लगायतका दलले आपत्ति व्यक्त गरेका छन् ।
सरकारकै नेतृत्व गरिरहेको दल कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै मोदी अभिव्यक्तिको विरोध गरेका छन् । दुई महामन्त्रीको उक्त विज्ञप्तिलाई पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवामाथि दबाबको रुपमा हेरिएको छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाले भारतसँग सम्बन्ध हार्दिक बनाउन चाहेका छन् ।
यसैसाता उत्तर छिमेकी चीनले पनि विज्ञप्ति जारी गर्दै नेपालसँग सीमा समस्या नरहेको कुरा दोहो¥याएको छ ।