गणतन्त्र धरापमा पार्ने प्रतिगामीको खेल जारी छ, लड्ने हिम्मत गरौं : डाक्टर भट्टराई
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रलाई धरापमा पार्ने प्रतिगामी खेल जारी रहेको बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमा डा.भट्टराईले यस्तो जनाएका हुन् ।
उनले लोकतन्त्रका दुई खम्बा व्यवस्थापिका र न्यायपालिकालाई ध्वस्त पारेर गणतन्त्रलाई धरापमा पार्ने काम भइरहेको बताए । उनले भने, ‘लोकतन्त्रका दुई खम्बा व्यवस्थापिका र न्यायपालिकालाई ध्वस्त पारेर अन्ततः संघीय लोकतान्त्रिक गणतन्त्रलाई धरापमा पार्ने प्रतिगामी खेल जारी छ भन्ने नभुलौं ।’
डा.भट्टराईले प्रतिगमनकारीहरू आफ्नै सत्यानाश नभएसम्म षड्यन्त्र गरिरहन्छन् भन्ने इतिहासबाट बुझ्नुपर्ने बताउँदै प्रतिगमनकारीसँग लड्ने हिम्मत गर्नुपर्ने पनि बताए । ‘प्रतिगमनकारीहरू आफ्नै सत्यानाश नभएसम्म षड्यन्त्र गरिरहन्छन् भन्ने इतिहासबाट बुझौं । प्रतिगमनकारीसँग झुक्ने हैन लड्ने हिम्मत गरौं,’ डा.भट्टराईले भने ।