१६ जिल्लामा आज एमालेको अधिबेशन नहुने

निरन्तर न्यूज
२३ पुष २०७८, शुक्रबार १४:४१

काठमाडौं । नेकपा एमालेको आज जिल्ला कमिटीका अधिवेशन हुँदैछ । यसअघि देशभर भने पनि प्रतिकूल मौसम तथा आन्तरिक तयारी अपुगका कारण आज (शुक्रबार) ६१ जिल्लामा मात्रै जिल्ला अधिवेशन गर्ने भएको छ।

आज एमालेको १६ जिल्लामा आज अधिवेशन नहुने भएको छ । बाँकी जिल्लाहरुको अधिवेशन भने अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी भएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए ।

प्रदेश–२ का सात जिल्लामा आन्तरिक विवादका कारणले आज अधिवेशन नहुने भएको छ । सप्तरी बाहेक सिराहा, धनुषा, सर्लाही, महोत्तरी, बारा, रौतहट र पर्साको जिल्ला अधिवेशन रोकिएको छ ।

संखुवासभाको जिल्ला अधिवेशन भने २६ पुसमा हुने भएको छ । त्यहाँ अध्यक्ष ओली आफैं जाने तयारी भएकाले अधिवेशन रोकिएको छ ।

रोल्पामा जिल्ला सचिवको निधन भएकाले अधिवेशन रोकिएको छ । बाँकी जिल्लाहरुमा भने चिसो र हिमपातका कारणले अधिवेशन नहुने भएको छ । मनाङ, मुस्ताङ, रुकुम पूर्व, हुम्ला, मुगु, कालिकोट र बझाङमा आज अधिवेशन नहुने विष्णु रिजालले बताए ।

गत मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा भएको दशौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको मङ्सिर २५ र २६ गते भक्तपुरमा सम्पन्न दोस्रो पूर्ण बैठकले आज जिल्ला अधिवेशन र आउँदो माघ ८ गते प्रदेश अधिवेशन गर्ने निर्णय गरेको थियो ।

एमालेले जिल्ला अधिवेशनको तयारीका लागि सम्बन्धित कमिटीलाई परिचालन गरेको छ । ती जिल्लाबाट केन्द्रीय नेतृत्वमा पुगेका नेता तथा तोकिएका जिल्ला इञ्चार्ज गृहजिल्लामा पुगिसकेका छन् ।

एमालेले जिल्ला तथा प्रदेश अधिवेशनका लागि दशौँ राष्ट्रिय महाधिवेशनका लागि निर्धारण गरिएको पार्टी सदस्यतालाई नै आधार बनाउने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*