दार्चुला र धार्चुला जोड्ने महाकालीमा पुल बन्ने
काठमाडौ । नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने महाकाली नदीमा मैत्री पुल बन्ने भएको छ ।
त्यसका लागि भारत सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महाकाली नदीमा मैत्री पुल बनाउन नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गर्ने अनुमति प्रदान गर्ने निर्णय गरेको छ ।
आजको क्याविनेट बैठकले धार्चुलास्थित महाकाली नदीमा पुल बनाउनका लागि भारत र नेपालबीच समझदारी पत्रमा हस्ताक्षर गर्ने अनुमति प्रदान गरेको भारतीय विदेशमन्त्री एस जयशंकरले उल्लेख गरेका हुन् । यो निर्णयले नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने उनले उल्लेख गरेका छन् ।
यसैबीच, परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच बिहीबार टेलिफोन कुराकानी भएको छ।
त्यस क्रममा नेपाल र भारतबीच द्विपक्षीय सहकार्यका विविध क्षेत्रका प्रगतिबारे छलफल भएको जयशंकरले ट्वीटमार्फत जानकारी दिएका छन्। विकास, साझेदारी र कोरोना महामारीमा नेपाल(भारत सहकार्य उल्लेखनीय रहेको जयशंकरले उल्लेख गरेका छन्।
आगामी दिनमा नेपाल–भारत सहकार्यको दायरा अझ फराकिलो बनाउनेबारे कुराकानी भएको जयशंकरले उल्लेख गरेका छन्। दुई मन्त्रीबीच नयाँ वर्षको शुभकामना आदान प्रदान पनि भएको थियो।
यस्तै सो अवसरमा द्विपक्षीय भ्रमण आदानप्रदान र विकास आयोजनाको कार्यान्वयन र भूकम्पपछिको पुनर्निर्माणमा भएको प्रगतिका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
उक्त वार्तामा परराष्ट्रमन्त्री खड्काले कोरोनाविरुद्धको लडाइँमा नेपाललाई निरन्तर सहयोग र सहयोग गरेकोमा भारतका विदेशमन्त्री जयशंकरलाई धन्यवाद ज्ञापन गरेका थिए। दुई देशबीचको सहयोगका क्षेत्रमा वार्ता जारी राख्न दुवै विदेशमन्त्री सहमत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
यसैबीच यही पुस २५ देखि हुन लागेको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ। भारतमा कोरोनाको तेश्रो लहर तीव्र फैलिएसँगै देउवाको भ्रमण तत्काललाई स्थगित भएको हो।