प्रधानमन्त्रीको आग्रहमा ओली मनाउन बालकोट पुगे पौडेल

निरन्तर न्यूज
२२ पुष २०७८, बिहीबार ११:४१

काठमाडौं । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । एमाले अध्यक्ष ओलीलाई भेट्न पौडेल ओली निवास बालकोट पुगेका थिए ।

बुधबार साँझ बालकोट पुगेका पौडेल र ओलीबीच अदालतमा देखिएको समस्या, संसद्को गतिरोध, एमसीसीमा देखिएको अन्योल लगायत विषयमा छलफल भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाकै आग्रहमा पौडेल ओलीलाई मनाउन पुगेका हुन् ।

देउवा आफै बालकोट पुग्दा गठबन्धनमा संशय पैदा हुने भन्दै काँग्रेस सभापति समेत रहेका देउवाले पौडेललाई बालकोट पठाएको स्रोतको भनाइ छ ।

दुई नेताबीच आजको छलफल सकारात्मक भएको बताइएको छ । नेता पौडेलले ओलीसँग पछिल्लो समय विवाद देखिएका विषयमा साझा धारणा बनाएर अघि बढ्नका लागि आग्रह गरेका थिए ।

भेटमा पौडेलले भने,‘अदालत र संसद प्यारालाइज्ड भयो। जसका कारण मुलुक नै डेडलक भयो। हामीले यत्रो संघर्ष गरेर ल्याएकोे संविधानमाथि आक्रमण भइरहेको छ। हामी जत्तिका जिम्मेवार राजनीतिज्ञले डेडलक नफुकाउने हो भने व्यवस्था र हामीप्रति नै वितृष्णा बढ्छ।’

प्रमुख प्रतिपक्षी दल सर्वदलीय बैठकमा नआएको प्रति पनि पौडेलले चासो व्यक्त गरेका थिए । छलफलमा ओलीले प्रधानमन्त्रीसँग वान टु वान कुरा गर्न चाहेको आशय व्यक्त गरेका थिए ।

जवाफमा ओलीले अटेर गर्ने, पेलेर अघि बढ्ने सभामुखलाई हटाउनु पर्ने अडान राखे। माधवकुमार नेपालहरूलाई कारबाही गरेमात्र ‘डेडलक’ खुल्ने उनले बताए।

‘अटेर गर्ने, पेलेर अघि बढ्ने सभामुख हटाउनु पर्छ। उहाँले माधवकुमार नेपालहरूलाई कारबाही गर्न मान्नुभएन। कारबाही हुनुपर्छ। अनि मात्रै डेडलक खुल्छ’, उनले भने।

जवाफमा पौडेलले ओलीलाई भने, ‘प्रधानमन्त्रीसँग पनि कुरा गर्नुस्। सभामुख हटाउन पनि प्रक्रिया होला। कुरा त गर्न पर्ला नि। तर, अदालत र संसदको डेडलक हटाऔं।’ उनीहरूबीच करिब एक घण्टा कुरा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*