सभापतिले कुन मापदण्ड अनुसार केन्द्रिय सदस्य मनोनीत गर्नुभयो: कोइराला

निरन्तर न्यूज
२१ पुष २०७८, बुधबार १८:४५

काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीलाई आगामी तीनै तहको निर्वाचनमा एक नम्बरको बनाउने घोषणा गरेका छन् ।

कांग्रेसको १४औं महाधिवेशनमा आफ्नो समूहबाट विजयी भएका र पराजित भएकाहरूको भेलामा कोइरालाले सो घोषणा गरेका हुन् ।

अनामनगरस्थित होटल बसेरामा आयोजित भेलामा उनले पार्टीको केन्द्रीय कार्यसमितिमा निर्वाचन र मनोनयन दुवै माध्यमबाट पुगेका नेताहरूलाई बधाई दिँदै उनले सबैको एउटै जोड कांग्रेसलाई एकढिक्का बनाउनुपर्ने रहेको पनि बताए । कोइरालाले महाधिवेशनपछि सभापति शेरबहादुर देउवाले मनोनयन गरेका १३ जना केन्द्रीय सदस्यहरू कुन मापदण्डअनुसार मनोनयन भएका हुन् त्यो जान्न चाहेको उल्लेख गरे ।

‘महाधिवेशनपछि सभापतिज्यूले मनोनयन गर्नुभएका सबै नेताहरू योग्य र सक्षम नै हुनुहुन्छ । तर, कुन मापदण्डका आधारमा मनोनयन गरिएको हो । यो भने हामी जान्न चाहन्छौं,’ उनले भने ।

डा.कोइरालाले पार्टीलाई विधि र विधानअनुसार सबैको रायसुझावका आधारमा चलाउन नसकिए दुर्घटनामा पर्ने पनि बताए ।

उनले आगामी निर्वाचनलाई मध्यनजर गरेर आफूहरू देशव्यापी रूपमा जनतामाझ जाने पनि घोषणा गरे ।

भेलामा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, चन्द्र भण्डारीलगायतका नेताहरू सहभागी थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*