बागमती प्रदेशमा राष्ट्रिय सभा निर्वाचनमा ६ जनाको उम्मेदवारी दर्ता
हेटौंडा । राष्ट्रिय सभाअन्तर्गत बागमती प्रदेशतर्फ रिक्त रहेको दुई सिटमा हुने निर्वाचनमा छ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । हेटौंडा–५ स्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर सत्ता गठबन्धन, नेकपा एमाले र अरु दलहरुले समेत उमेदवारी दर्ता गराएका हुन् । सत्ता गठबन्धन र एमालेले आफ्ना नेता र कार्यकर्तासहितको उपस्थितीमा उमेदवारी दर्ता गराएका हुन् । आगामी माघ १२ गते हुने निर्वाचनका लागि महिलातर्फ ३ जना र अन्यतर्फ ३ जनाले उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडाले जनाएको छ ।
गठबन्धनमा कांग्रेसका कृष्णप्रसाद पौडेल, महिलामा समाजवादीबाट गोमा तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका हुन् । यही माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चा रहेका छन् । त्यस्तै, निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा नेकपा एमालेबाट गोपाल शाक्य (ललितपुर) र महिलातर्फ निरकुमारी कुँवर दर्लामी (सिन्धुलीकी) ले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै, निर्वाचनका लागि नेमकिपाबाट कृष्ण बहादुर तामाङ र महिलातर्फ भक्तपुरकी गीता काफ्लेले उम्मेदवारी दर्ता गराएका छन् । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति प्रतिनिधि बनेर उनीहरुको उम्मेदवारी दर्ता गराएको बागमती प्रदेशका राष्ट्रियसभा निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठले बताए ।
आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रियसभाका २० सांसदको पद रिक्त हुँदैछन् । रिक्त हुन लागेको २० सिटमध्ये राष्ट्रपतिबाट मनोनित हुने एक स्थानबाहेक १९ सिटका लागि निर्वाचन हुन लागेको आयोगले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार आज मनोनयन दर्ता गराएका उम्मेदवारहरुको भोली २१ गते दाबी विरोधको उजुरी दिने कार्यक्रम रहेको छ ।
पुस २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रम हुनेछ । २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने सोही दिन उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने छ भने माघ १२ गते विहान ९ बजे देखि ३ बजेसम्म मतदान कार्यक्रम संचालन हुनेछ ।
मतदानका लागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ मा रहेको हेटौंडा औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहलाई मतदान स्थल तोकिएको छ । निर्वाचनमा स्थानीय तहका प्रमुखरउपप्रमुख, अध्यक्षरउपाध्यक्ष र प्रदेशसभा सदस्यसहित प्रदेशबाट ३४६ मतदाता रहेका छन् । जसमा १०९ जना प्रदेशसभा सदस्य २३७ जना स्थानीय तहका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष रहेका छन् ।