कांग्रेस बागमती प्रदेश समितिको पहिलो बैठक सम्पन्न

निरन्तर न्यूज
१९ पुष २०७८, सोमबार २१:४९

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश समितिको पहिलो बैठक आज हेटौंडामा बसेको छ ।

सभापति इन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा बसेको बैठकले संघीय राजधानी काठमाडौँमा प्रदेश समितिको सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले प्रदेश समितिलाई प्रविधिमैत्री बनाउनेसमेत निर्णय गरेको छ । समितिको फेसबुक, ट्वीटरलगायत सामाजिक संजाल बनाई विभिन्न स्थानीयदेखि केन्द्रीय समितिसम्म प्रभावकारी समन्वयको वातावरण बनाउने जनाइएको छ ।

१४ औँ अधिवेशनबाट निर्वाचित प्रदेश समितिका सभापति, पदाधिकारी तथा सदस्यहरुलाई माघको पहिलो साताभित्रै प्रशिक्षण दिनेसमेत निर्णय भएको महामन्त्री राजु श्रेष्ठले जानकारी दिए ।

साथै बैठकले प्रदेश अधिवेशन सम्पन्न गर्न विभिन्न तह तप्काबाट भूमिका निर्वाह गर्ने सबैमा धन्यावाद दिने प्रस्ताव पारित गरेको छ । निर्वाचन अधिकृत, केन्द्रीय तथा मकवानपुर समिति, सुरक्षा निकाय, पत्रकार, नागरिक समाज, स्वयंमसेवक लगायत अधिवेशनमा सक्रिय रहने सबैमा प्रदेश समितिले धन्यवाद दिएको हो ।

समितिले कांग्रेसका नवनिर्वाचित केन्द्रीय सभापतिसहित सम्पूर्ण पदाधिकारी र सदस्यहरुमा बधाई शुभकामना दिने प्रस्ताव पनि पारित गरेको महामन्त्री श्रेष्ठले बताए ।

बैठकमा प्रदेश समिति उपसभापति मोहनबहादुर बस्नेत, चन्द्र महर्जन, महामन्त्री कन्चनचन्द्र बादे, जीवन डंगोल, सह–महामन्त्री ऋषिराम घिमिरे, हरिसरण श्रेष्ठलगायत सदस्यहरुको उपस्थिति रहेको थियो ।

बैठकअघि निर्वाचन अधिकृत केशवराज काफ्लेले प्रदेश समितिका नवनिर्वाचित सभापति, पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*