महाधिवेशनमा प्रचण्डको प्रतिबद्धता : सबैको सुझाव समेटेर प्रतिवेदन समृद्ध बनाउने
काठमाडौ । नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनमा आफूले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक दस्तावेजमाथि उठेका प्रश्नको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिएका छन् ।
महाधिवेशनको दोस्रो दिन गत सोमबार अध्यक्ष प्रचण्डले वैचारिक तथा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उक्त प्रतिवेदनमाथि २५ वटा समूहमा मंगलबार छलफल भएर बुधबार र बिहीबार समूहका नेताहरूले सुझावसहित निष्कर्ष प्रस्तुत गरेका थिए ।
त्यसक्रम उठाइएका प्रश्नको शुक्रबार अध्यक्ष प्रचण्डले जवाफ दिएका हुन् ।
प्रचण्डको जवाफ :
देशको राष्ट्रिय राजनीतिमा समेत नयाँ ऊर्जा प्राप्त हुनेगरि उद्घाटन सत्र सुरु भयो । प्रतिवेदनपछि हलमा र बाहिर तरंग, उत्साह जिज्ञासा व्यक्त भयो । महाधिवेशनप्रति देशको ध्यान केन्द्रित रह्यो ।
हाम्रो पृष्ठभूमि र विरासतको कारणले माओवादी नामका क्रान्तिकारी जनयुद्ध र जनआन्दोलनको संवाहक पार्टी भएको नाताले, यो परिवर्तनसँग पार्टी आन्दोलन विरासत जोडिएकोले यो महाधिवेशनप्रति देश र र दुनियाँको ध्यान छ ।
कस्तो कार्यक्रम ल्याउने हो, कस्तो संगठन बनाउने हो, कस्तो निर्णय गर्ने हो भन्ने चासो थियो। कसैले २१शताब्दी फड्को हान्न खोजे पनि भने । कतिले २०औँ शताब्दिमा फर्कन खोजेको भने । कतिले किताबबाट सारेको पनि भने । कतिले पुरानै बाटोमा जाने भयो पनि भने ।
तर, यो महाधिवेशन अरुभन्दा फरक रह्यो । यो के कारणले भयो भने यसले सुुरुदेखि नै विचारको विकासलाई प्रमुख स्थानमा राख्यो । पार्टी रुपान्तरणमा केन्द्रित बन्यो । यही रुपमा कम्युनिष्ट आन्दोलनको इतिहासमा दर्ज भयो ।
दक्षिण, वाम या मध्यमार्गी कोणबाट नै किन नआएको होस्, यो महाधिवेशनमा विचारको विकास, आत्मसमीक्षाको रुपमा, जनतासँग जोडिने सवालमा यो महाधिवेशन फरक रुपमा प्रस्तुत भएको सबैले आत्मसात ग¥यो । यो नयाँ बहसको सृष्टि गर्ने महाधिवेशन भयो । यही रुपमा इतिहासमा दर्ज भयो।
प्रतिवेदन गोपनीयता राख्ने कुरा पनि छ । यहि भएर हामीले प्रस्तुत नहुँदै प्रतिवेदन बाहिर नलैजाउँ भनेको हो र कमरेडहरूलाई पनि प्रस्तुत भएपछि मात्र दिइएको हो । आगामी दिनमा गोपनीयता पनि कायम गर्ने र यहाँहरूले भने जस्तै समयमै दिने वातावरण बनाउनेमा पनि ध्यान जान्छ ।
हाम्रो महाधिवेशनप्रति पुरै देशको ध्यान गएको छ । ठूला राजनीतिक पार्टीले पनि हामीलाई हेरेका छन् । एजेन्डा ल्याउने र स्थापित गर्ने त माओवादी हो ।