गिरिराजमणिमाथि कारबाहीको माग, बन्दसत्र रोकेर बस्यो माओवादीको स्थायी समिति बैठक
काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं राष्ट्रिय महाधिवेशन अन्तरगत बन्दसत्रमा विवाद भएको छ । प्रदेश दुईमा नेता गिरिराजमणि पोखरेल र उनको समूहको भूमिकामाथि प्रश्न उठाउँदै उनी लगायतमाथि कारबाहीको माग भएपछि विवाद उत्पन्न भएको हो ।
बुधबार कमलादीस्थित बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष सुनाउने क्रममा प्रदेश २ का टोली नेता रहेका सत्यनारायण भगतले गिरिराजमणि पोखरेल लगायतमाथि कारबाही हुनुपर्ने आवाज उठाएपछि विवाद भएको हो । प्रदेश दुईस्थित धनुषामा शहीद रामवृक्ष यादवको शालिक हटाएर निर्मल लामाको शालिक राख्ने विषयमा भगत समूह र पोखरेल समूहबीच विवाद छ।
सो विषयमा असन्तुष्टि जनाउँदै पोखरेल बिहीबारको बन्दसत्रमै अनुपस्थित रहेको एक नेताले बताए ।
बन्दसत्र सञ्चालन अध्यक्ष मण्डलका सदस्यसमेत रहेका पोखरेल बन्दसत्रमा अनुपस्थित रहेपछि सम्मेलनस्थलमा हंगामा नै भएको प्रतिनिधिहरुको भनाइ छ । सही विषयलाई समाधान गर्न अहिले कमलादीमै माओवादी स्थायी कमिटीको बैठक सुरु भएको छ ।