महासचिव लफडाले पदाधिकारी छनौट नहुने बाटोमा माओवादी महाधिवेशन
काठमाडाैं । नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनअन्तर्गत आज पनि बन्दसत्र जारी छ। साेमबार अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि गरिएको सामूहिक छलफलको निष्कर्ष सुनाउने क्रम आज पनि जारी भएकाे छ ।
बन्दसत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदामाथिको छलफल सकिएपछि प्रचण्डले जवाफ दिनेछन् ।
त्यसपछि पारितका लागि पुनः बन्दसत्र हलमा नै प्रस्तुत हुनेछ । दुवै प्रतिवेदन पारित भएपछि माओवादी केन्द्रको महाधिवेशन बन्दसत्र सांगठानिक संरचना निर्माणमा केन्द्रित हुनेछ ।
‘बन्दसत्र सकिएपछि केन्द्रीय सदस्यको निर्वाचन तालिका प्रकाशन हुन्छ’, केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णु पुकार श्रेष्ठले भने ।
माओवादी केन्द्रको विधानअनुसार महाधिवेशन हलबाट केन्द्रीय कमिटी मात्रै घोषणा हुनेछ ।
विधानअनुसार अहिले केन्द्रीय कमिटी घोषणा हुन्छ । सर्वसम्मत हुने पदाधिकारीको नाम पनि घोषणा हुन्छ ।
माओवादी केन्द्रको भौगोलिक ७ र गैरभौगालिक ३ गरी १० वटा प्रदेश संरचना रहेका छन् । माओवादी केन्द्रले केन्द्रीय सदस्यको नाम टुंग्याउनका लागि प्रत्येक प्रदेशबाट सिफारिस माग्ने भएको छ ।
प्रत्येक प्रदेशबाट सिफारिस भएर आएका नामलाई केन्द्रीय कमिटीले अन्तिम रुप दिनेछ । केन्द्रीय कमिटीले यसरी नामावली तयार पारेपछि सो केन्द्रीय कमिटी भंग हुनेछ। केन्द्रीय कमिटीले महाधिवेशन हलमा केन्द्रीय सदस्यको नामसहितको प्यानल घोषणा गर्नेछ । यसरी घोषणा भएको नाममा दाबी विरोधका लागि समय पनि दिइनेछ । कसैले दाबी विरोध गरेमा र सर्वसम्मत हुन नसेकेमा निर्वाचन गरिनेछ ।
केन्द्रीय सदस्यको टुंगो लागेपछि मात्रै पदाधिकारीमा प्रवेश गर्ने भएको हो । देशभरबाट आएका महाधिवेशन प्रतिनिधिले केन्द्रीय सदस्य टुंगो लगाएर उनीहरु घर फर्किनेछन् । निर्वाचित भएको केन्द्रीय कमिटीले पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरो कमिटीको चयन गर्नेछ ।
अन्तिम समयमा संशाेधित विधानअनुसार माओवादीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र एक जना कोषाध्यक्षसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति रहनेछ ।
अध्यक्षमा प्रचण्ड वरिष्ठ उपाध्यक्षमा नाराकाजी श्रेष्ठ निश्चित नै छन् । महासचिवमा दावेदार धेरै हुँदा चुनाव नै नहुने हो कि भन्ने आशंका जन्मिएको छ । महासचिवमा वर्तमान महासचिव कृष्णबहादुर महराले दोहोरिने इच्छा गरेका छन् । जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल महासचिवको दौडमा छन् ।
’मेरो चाहना के हो म हलमै भन्छु । तपाईँहरूले बुझ्नुभएकै छ । त्यो हुन पनि सक्छ, नहुन पनि सक्छ‘, महराले भने ।
त्यसैगरी पम्फा भुसाल वार्ताको ढोका खुला राख्दै महासचिवको दौडमा छिन् । शर्मा र पुन कुनै हालतमा पछि नहट्ने पक्षमा छन् ।
‘महासचिवमा धेरै आकांक्षी छन् । त्यसैले महाधिवेशनबाट सम्पूर्ण पदाधिकारी चयन नहुन सक्छ’, एक नेताले भने, ‘केन्द्रीय सदस्य र अध्यक्ष महाधिवेशनबाट चयन गरेर अरु पदाधिकारी र पोलिटब्युरो केन्द्रीय कमिटीले २ महिनाभित्र छान्ने गरी महाधिवेशन सकिनेछ । सकभर निर्वाचनमा नजाऔँ भन्ने कुरो आएको छ ।’