‘जनयुद्ध’ र मधेस ‘जनविद्रोह’ नभएको भए मुलुकमा संघीयता र गणतन्त्र असम्भव : अध्यक्ष यादव

निरन्तर न्यूज
११ पुष २०७८, आईतवार १९:५१

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले माओवादी ‘जनयुद्ध’ र मधेस ‘जनविद्रोह’ नभएको भए मुलुकमा संघीयता र गणतन्त्र असम्भव हुने बताएका छन् ।

नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले माओवादी र मधेस संघर्ष नभएको भए मुलुक अहिले संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रमा रुमलिएर बस्ने जिकिर गरे ।

उनले आन्दोलन र संघर्षपश्चात् धेरै सरकार बने पनि सत्यनिरुपण तथा मेलमिलाप आयोगले काम गर्न नसक्दा सशस्त्र द्वन्द्वमा ज्यान गुमाएकाका परिवारहरूले अझै न्याय नपाएको बताए ।

अहिले पनि संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र पनि धरापमा पर्ने हो कि भन्ने डर अन्त्य भइनसकेको उनको भनाइ छ ।

नेपालको संविधान जारी हुँदा देशका आधाभन्दा बढी जनसंख्याले कालो दिवस मनाएको भन्दै उनीहरूलाई पनि ‘बत्ती बाल्ने मौका दिने कार्य गर्नुपर्ने’ उनले बताए ।

अध्यक्ष यादवले संविधान संशोधन र परिमार्जन अहिलेको महत्त्वपूर्ण र आवश्यक कार्य भएको उल्लेख गरे । “संविधान संशोधन गर्नुपर्छ, सबैलाई स्वीकार्य बनाउनुपर्छ । अब सहमति गरेर अघि बढौँ,” उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*