नव निर्वाचित कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक पुस १० गते बस्ने
काठमाडौ । नव निर्वाचित कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक यही पुस १० गते बस्ने भएको छ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार १४ औं महाविधेशनमा भएको निर्वाचनको सबै नतिजा आएलगत्तै बैठक बस्न लागेको हो।
कांग्रेस निर्वाचनको सबै नतिजा आज (बिहीबार) सम्ममा आइसक्ने निर्वाचन समितिले जनाएको छ।
केन्द्रीय समितिको बैठकअघि शुक्रबार सभापतिसहितका पदाधिकारी र केन्द्रीय कार्यसमिति सदस्यलाई निर्वाचन समितिले प्रमाणपत्र वितरण गर्ने कार्यक्रम तय भएको छ।
कांग्रेसको १६७ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीसहित १३४ सदस्य निर्वाचित भएका छन्।
कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यमध्येबाट मनोनित गर्ने व्यवस्था विधानमा छ । ३३ जना केन्द्रीय सदस्य पनि मनोनित गर्ने व्यवस्था कांग्रेसको विधानमा छ।
निर्वाचनको सबै नतिजा आइनसक्दै सभापति शेरबहादुर देउवा केन्द्रीय समितिमा स्पष्ट बहुमतमा देखिएका छन्। निर्वाचनको नतिजा हेर्दा देउवा पक्ष १३ औँ महाधिवेशनभन्दा पनि शक्तिशाली देखिएका छन्।