के तपाईंलाई थाह छ य:मरिको कथा ?
हेटौंडा । नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व आज हर्षोल्लासका साथ मनाउँदैछन् । योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ ।
(योमरी पुन्हि) को कथा
ऐतिहासिक कथा अनुसार पाञ्चाल देश (हालको पनौती) मा सुचन्द्र महाजन नाम गरेका एक दानी र धर्मात्मा दम्पति बस्दथे । उनीहरुको दयालु स्वभाव संसारभर फैलिएको थियो ।
एक दिन कुबेरलाई सुचन्द्र महाजन दम्पति कत्तिको दानी रहेछन् भनि बुझ्न मन लागेछ ।कुबेरले एक दरिद्र रुप धारण गरी उक्त महाजनको घरमा माग्न पुगेछन् । महाजन दम्पतीले दरिद्र रुपी माग्नेलाई स्वागत सत्कार गरी पकाएर राखेको यमरि सहित खानेकुरा खुवाउनुको साथै श्रद्धा गरेकाले कुबेर खुसी भै आफ्नो सक्कली रुप देखाएछन् र ति महाजन दम्पतिलाई यमरिको गुण र धानको भकारीमा गणेश, कुबेर र तिनका बाहन सहितको प्रतिमा बनाई पूजा गरी यमरि चढाउने विधि बताएर अन्तर्ध्यान भएछन् । त्यो दिन मंसिर शुल्क पूर्णिमा अर्थात् थिंलाथ्व पूर्णिमाको दिन थियो ।
कुवेरले दिएको महाजन दम्पतिले तिलको धुलो र चाकुको झोल मिश्रित पदार्थ राखी चामलको पिठोको रोटी / योमरी बनाई अन्न राख्ने भकारीमा विधिपूर्वक स्थापना गरि ४ दिन सम्म छोपेर राखी पूजा गरेछन् । अनि अन्न, धान र योमरि दान पनि गरेछन् । भकारीमा चढाएको चार दिनपछि दिइसकेका छोरीचेली समेतलाई माइतमा बोलाइ सपरिवार बसेर यमरि प्रसादका रुपमा बाँडेर खाने ख्वाउने गरिन्छ । यमरि खाएकाले शरीरसमेत हृष्टपुष्ट हुन थालेछ । धन सम्पत्तिको बृद्धि हुन थालेछ र आम्दानी पनि बढ्न थालेछ ।
विस्तारै यो कुरा जताततै फैलिएपछि त्यही समयदेखि नेवार समुदायमा यमरि पूर्णिमाको संस्कृति विकास भएको विज्ञहरु बताउँछन् । यसरी कुबेरले भने अनुसार धनधान्य भएको हुनाले त्यहि बेलादेखि मंसिर पूर्णिमाको दिन भर्खरै भित्राएको धानबाट योमरि बनाएर खाने र पर्व मनाउने चलन चलिआएको छ ।
“रत्नाबदान बुद्ध वचन” पुस्तकमा उल्लेखित कथाको सारांस ! सम्बाहकबाट साभार ।