बागमती प्रदेशमा मन्त्रालाय बढाईएपछी एउटै भवनमा पाँच वटा मन्त्रालय

निरन्तर न्यूज
३ पुष २०७८, शनिबार १२:४३

हेटौंडा । बागमती प्रदेशको नवनियुक्त मन्त्रीहरुले आफ्नो मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन् । बागमती प्रदेशमा भौतिक पूर्वाधार विकास मन्त्रालय भएको भवनमा अहिले पाँच वटा मन्त्रालय राखिएको छ । प्रदेश सरकारले ८ वटा मन्त्रालयलाई १४ पुर्‍याएसँगै थपिएका मन्त्रालयलाई पनि पहिलेकै मन्त्रालय भएको भवनमा स्थापना गरिएको छ ।

यसअघि प्रदेशको मुख्य न्यायाधीवक्ता कार्यालय भएको स्थानमा खानेपानी, ऊर्जा तथा सिचाई मन्त्रालयको स्थापना गरिएको छ । सोही भवनको सबैभन्दा माथिल्लो तलामा श्रम, रोजागर तथा यातायात मन्त्रालय रहेको छ । पहिले मन्त्रालय भएको स्थानमा कृषि तथा पशुपछी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय रहेका छन् ।

प्रदेशमा थपिएका मन्त्रालयहरु पहिलेकै मन्त्रालय भएको भवनमा नै स्थापना गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता रमेश उपाध्यायका अनुसार थपिएका मन्त्रालयमध्ये युवा तथा खेलकुद मन्त्रालय र संस्कृति तथा पर्यटन मन्त्रालयमात्र भाडाको घरमा सञ्चालन हुनेछन् । अन्य मन्त्रालयहरु भने पुरानै मन्त्रालय भएको स्थानमा समेटिएका छन् ।

यसैगरी बागमती प्रदेशको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मुख्यमन्त्री कार्यालय परिसरमा स्थापना गरिएको छ । कांग्रेसको सांसदहरुलाई मन्त्री बनाउन राखिएको सो मन्त्रालयको भवन भत्किने भएसँगै पहिले भएको प्रदेश नीति तथा योजना आयोगको कार्यालय भाडाको घरमा सरिसकेको छ । यस्तै सोही भवनमा भएको लोकसेवा आयोगको कार्यालय र प्रदेश लेखा नियन्त्रकको कार्यालयसमेत भाडाको घरबाट सञ्चालन हुँदै आएको छ । भवन अभाव भएसँगै सोही स्थानमा आपूर्ति मन्त्रालयको व्यवस्थापन भएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको निजी सचिवालयले नवनियुक्त मन्त्रीहरुलाई पुरानै सवारी साधन उपलब्ध गराएको जानकारी दिएको छ । ‘मन्त्रीहरुलाई नयाँ गाडी खरिद गरिएको छैन’, मुख्यमन्त्री पाण्डेका निजी सचिव अच्युत लामिछानेले भन्नुभयो । थप भएको मन्त्रालयमा संघीय सरकारले सचिव नपठाएसम्म पुरानै मन्त्रालयका सचिवले काम गर्ने उहाँको भनाई छ ।

बागमती प्रदेशमा भएको ८ वटा मन्त्रालयलाई फुटाइएसँगै अब मन्त्रालय निर्देशनालयजस्तो भएको एक कर्मचारीले टिप्पणी गरेका छन् । बागमती प्रदेशमा अब ३ मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ । प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ । यी तीन मन्त्रालयमा मन्त्री पठाउने जिम्मेवारी नेपाली कांग्रेसले पाएको छ ।

मन्त्रालय फुटेसँगै तत्कालका लागि मन्त्रालयको बजेट र कर्मचारी पनि बाँडिने भएका छन् । एकै कर्मचारीले २ वटा मन्त्रालयको काम गर्नुपर्ने बताइएको छ । केही समयपछि मन्त्रालयको कर्मचारी र बजेट व्यवस्थापन मिल्दै जाने मुख्यमन्त्री तथ मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता उपाध्यायले बताउनुभयो ।

थपिएको मन्त्रालयमा सचिवसहित आवश्यक कर्मचारी पठाउन यसअघि एक कार्यक्रममा मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुख्य सचिव शंकरदार वैरागीको ध्यानाकर्षण गराइसक्नुभएको छ । बागमती प्रदेशको थपिएका मन्त्रालयमा सचिवहरु कहिलेसम्म आउँछन् भन्ने प्रश्नमा बागमती प्रदेशका प्रमुख सचिव किरण शर्माले आफूलाई यसबारे जानकारी नभएको प्रतिक्रिया दिनुभएको छ । समृद्धसमाजबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*