ताजा जनादेशमा जाने कुरामा हाम्रो ध्यान रहने : केपी ओली
काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा जित सुनिश्चित गराउने काममा ध्यान केन्द्रित गर्न पार्टीको सिंगो पंक्तिलाई आह्वान गरेका छन्।भक्तपुरको गठ्ठाघरमा शनिबारदेखि सुरु भएको पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले पार्टीमा अन्य पार्टीबाट प्रवेश गर्नेहरूको लहर ल्याउने र आगामी निर्वाचनमा पार्टीको विजय सुनिश्चित हुने गरी जनताबीच पुग्न पनि पार्टीका नेता-कार्यकर्तालाई सचेत गराए।
ओलीले स्वार्थमा नभएर बिचारमा संगठित भएर पार्टीलाई बलियो बनाउनुपर्ने धारणा राखे। उनले मुलुकबाट अस्थिरता र अराजकता अन्त्य गर्न ताजा जनादेशको विकल्प नभएको बताए। जनमत प्राप्त सरकारलाई हटाएर मुलुकमा अस्थीरता र अराजकता पैदा गर्न खोजिएकोले ताजा जनादेशको बिकल्प नभएको उनको भनाई छ। यसअघि एमालेकै भोटले जितेका व्यक्तिहरुले बेईमानी गरेको र पार्टीलाई बिगार्न खोजिएको उनले बताए।
ओलीले आगामी निर्वाचनलाई ध्यानमा राखेर सुदृढ र विस्तृत संगठन निर्माणमा ढिलाइ गर्न नहुने स्पष्ट पारे। उनले पार्टीका नेतालाई हरेक वडा तहमा जाँदा पनि त्यहाँको पाँच मुख्य कामबारे जानकारी लिएर आउन कडा निर्देशन दिएका थिए। जनताको चाहनाअनुसार विकास, निर्माणलाई अघि बढाउन हाम्रो पार्टीले अब सबै तहमा जाँदा त्यहाँको मुख्य-मुख्य पाँच कामबारे जनतालाई सोधेर आउनुपर्ने, त्यसरी आउँदा मात्रै आगामी दिनमा जनताको चाहनाअनुसार पार्टीले काम गर्न सक्ने अध्यक्ष ओलीको भनाइ थियो।
उनले भने, ‘नेताहरूलाई जनताबीच जाँदा जनता पार्टीमा प्रवेश गर्नेहरूको लहर नै ल्याउँछाँ। ताजा जनादेशमा जाने कुरामा हाम्रो ध्यान जानेछ। यी कुरालाई ध्यानमा राखेर हाम्रो विजयलाई सुनिश्चित बनाउन हामी अत्यन्तै संगठित र सक्रिय भएर जनताबीच जानुपर्छ। हाम्रो पार्टी सुदृढ र विस्तृत बनाउनुपर्छ।’