माधव पक्षबिनाको एमाले स्थायी कमिटी बैठक सम्पन्‍न, सरकारलाई विश्‍वासको मत नदिने

निरन्तर न्यूज
१ श्रावण २०७८, शुक्रबार २२:३८

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्‍वासको मत नदिने निर्णय गरेको छ । शुक्रबार बसेको बैठकले सरकारलाई समर्थन नगर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुको मात्र उपस्थितिमा स्थायी कमिटी बैठक बसेको थियो । बैठक चलिरहेका बेला माधवकुमार नेपाल पक्षका कार्यदल सदस्यहरु पुगेर बैठक रोक्न र १० बुँदे सहमतिअनुसार अघि बढ्न आग्रह गरेका थिए ।तर अध्यक्ष ओलीले ‘बैठक जारी रहन्छ, कार्यसूची अगाडि बढाउनुस्’ भनेपछि नेपाल पक्षका नेताहरु बाहिरिएका थिए । ओली पक्षका नेताहरु मात्र रहेको स्थायी कमिटी बैठकले लोकतान्त्रिक र अस्वस्थ विधिबाट सरकार गठन भएको भन्दै समर्थन नगर्ने निर्णय गरेको हो ।

प्रवक्ता ज्ञवालीले भने, ‘लोकतान्त्रिक र अश्वस्त विधिबाट सरकार भएको सरकारलाई पार्टीको समर्थन नरहने र विश्वासको मत नदिने प्रष्ट पार्दै पार्टीका सबै प्रतिनिधिसभा सदस्यहरुलाई यस निर्णयको पालनाका लागि निर्देशन दिने निर्णय गरेको छ ।’

बैठकले कार्यदलले गरेको १० बुँदे सहमति अनुमोदन गर्दै कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । साथै कार्यदल भंग गर्ने निर्णय गरेको प्रवक्ता ज्ञवालीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*