माधव पक्षलाई मागेजति मन्त्रालय दिन सत्तापक्ष तयार

निरन्तर न्यूज
१ श्रावण २०७८, शुक्रबार १०:५२

काठमाडौं । सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सरकार गठनमा सघाएको नेकपा एमालेको माधव नेपाल पक्षलाई पनि वर्तमान सरकारमा सहभागी हुन पुनः आग्रह गरेको छ । नेपाल पक्षले सरकारमा सहभागी हुने इच्छा देखाएमा मागेजति मन्त्रालय दिइने पनि गठबन्धनको भनाई छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित विपक्षी दलका नेताहरुले यसबारेमा उचित निर्णय लिइदिन एमाले वरिष्ठ नेता नेपाललाई दैनिकजसो आग्रह गरिरहेका छन् । यद्यपि नेता नेपालले भने यो विषयमा मुख खोलेका छैनन् ।

देउवा प्रधानमन्त्री नियुक्त भएलगत्तै उनले अदालतको फैसलाले ओली प्रवृत्तिको पराजय भएको प्रारम्भिक प्रतिक्रिया दिएका थिए । तर, सरकारमा सहभागी हुन केही व्यवधान रहेको भन्दै नेपाल पक्षका केही सांसदहरुले पार्टी अध्यक्ष ओलीसँग वारपार भएपछि निर्णय लिनु उचित हुने सल्लाह दिएको बुझिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बहिर्गमनमा परेपछि नेपाली काँग्रेसका सभापति देउवा प्रधानमन्त्री नियुक्त भएका हुन् । उनले ३० दिन भित्र संसदबाट विश्‍वासको मत लिनुपर्ने भएकाले एमालेको माधव पक्षको भूमिका निर्णायक देखिन्छ । हाल प्रधानमन्त्री देउवालाई काँग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाका गरी १२३ सांसदको समर्थन छ भने एमालेको नेपाल पक्षका २३ सांसदले अदालतको फैसला आउने बेलासम्म साथ दिएका थिए ।

संसदमा विश्‍वासको मत लिन मात्रै नभएर सडक र सदनमा हुने विरोधका स्वर कमजोर बनाउन पनि देउवालाई माधव पक्षको सहयोगले ठुलो अर्थ राख्‍ने हुँदा सकभर सरकारमा माधव पक्षलाई ल्याउन काँग्रेस आफैं अग्रसर भएको छ । यसमा काँग्रेसले थोरै मात्रै मन्त्रालय लिएर पनि नेपाल पक्षलाई मागेजति मन्त्रालय दिने मनस्थिति बनाएको स्रोतको दाबी छ । यस विषयमा सत्ता सहयात्री दलहरुसँग समेत परामर्श गरिसकेपछि मात्रै थप मन्त्रीपरिषद् विस्तार हुने पनि काँग्रेसले जनाएको छ ।

यदि माधव नेपाल पक्षले सरकारमा सहभागिता जनाएमा यसअघि एमालेको ओली समूहमा खुलेका केही सांसद समेत नेपाल समूहमा फर्कने संकेत पाइएको भन्दै नेपाल पक्षका केही सांसदले मन्त्री हुने अपेक्षा सहित देउवा सरकारमा सहभागी हुनुपर्ने पक्षमा लबिङ सुरु गरेको बुझिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*