बादल बाहेकका पूर्ब माओवादी नेताहरुले एमाले छाड्दै
काठमाडौं । पार्टीभित्रको आन्तरिक कलह र अध्यक्ष केपी शर्मा ओलीको अहंकार, दम्भ र घमण्डले सत्ता बहिर्गमनमा परेको नेकपा एमालेलाई पूर्वमाओवादी नेताहरुले पनि छाड्ने भएका छन् । एमालेमा माओवादी केन्द्रका पूर्वमहासचिव रामबहादुर थापा ‘बादल’ सहित ३ सय भन्दा बढी नेता कार्यकर्ता छन् ।
सर्वोच्च अदालतको पछिल्लो फैसलासँगै एमाले सत्ताबाट बाहिरिएको छ । सत्तामा रहँदा पनि अध्यक्ष ओलीनिकटका बाहेक अरुले लाभको पद पाएका थिएनन् । पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल सहित नवौं महाधिवेशनबाट निर्वाचित बहुमत पदाधिकारी ओलीविरोधी मोर्चामा सामेल थिए ।
एमाले वरिष्ठ नेता नेपालसहित उनको समूहले ओलीलाई सत्ताबाट हटाउन नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाको गठबन्धनलाई अदालतको फैसला आउनु अगाडिसम्म साथ दिएका थिए । अदालतको फैसला आउनुभन्दा अघिल्लो दिन मध्यरातमा एमाले पार्टी एकताको लागि सहजीकरण गर्न बनेको कार्यदलको बिचमा १० बुँदे सहमति भएको प्रचार गरिएपनि नेता नेपालले त्यसमा अझै असहमति राख्दै आएका छन् ।
यसैबीच नेकपा एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते पार्टी एकता भई बनेको नेकपाको स्थायी कमिटी सदस्य रहेका माओवादीका पूर्व महासचिव बादलसहित टोपबहादुर रायमाझी, मणि थापा र लेखराज भट्टलाई एमालेले पुनः स्थायी कमिटी सदस्य बनाएको छ । तर, उनीहरुसँगै एमाले बनेका प्रभु शाह, दावा लामा, गौरीशंकर चौधरी लगायतलाई भने कुनै माथिल्लो कमिटीमा राखिएको छैन ।
एमालेको आन्तरिक कलह, ओलीको सत्ता बर्हिगमन, माओवादी केन्द्रसहितको नयाँ सरकार गठन र आफ्नै क्षेत्रमा धेरै कार्यकर्ता रुष्ट भएका कारण एमालेमा रहेका पूर्वमाओवादी नेताहरुको राजनीतिक जीवन अप्ठ्यारोमा पुगेको बताइएको छ ।
केही दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा एमाले स्थायी समिति सदस्य मणी थापाले आफुलाई एमाले भन्न असहज भइरहेको प्रतिक्रिया दिएका थिए । ‘एमाले नेता भन्दा त्यति स्वभाविक लाग्दैन, हामी लामो समय जनयुद्ध लडेर आएको र त्यतिबेला आफैंले संशोधनवादी भनिएको एमालेसँग यसरी एक भएर अघि बढिएला भन्ने सोचेकै थिएनौं’–थापाले भनेका छन् ।
यता तराइमा आफ्नो पकड बनाएका प्रभु शाह पनि एमाले बनेर जाँदा आफ्नै गाउँमा लखेटिनु परेकोमा चिन्तित छन् । श्रीमती मेयर भएको ठाउँमा प्रमुख अतिथि बनेर जाँदा शाहलाई आफ्नै समर्थकले विरोध गरेका थिए । उनलाई एमालेमा रहेका तराईका नेताहरुले नरुचाएको पनि बुझिएको छ ।
अर्घाखाँचीका टोपबबहादुर रायमाझी र कैलालीका लेखराज भट्टलाई पनि एमाले नेताहरुले नेतृत्वमा स्वीकार गर्न नखोजेको गुनासो उनकै समर्थकले गरेका छन् । चौधरी र लामासँगै अन्य नेताहरु समेत एमालेमा खुशी नभएको स्रोतको दाबी छ । उनीहरुले एमालेमा भविष्य नभएको र माओवादीमा फर्कने बाटो पनि सुखद नभएको भन्ने गरेको माओवादीबाट एमालेमा पुगेका एक नेताले बताए ।
पछिल्लो राजनीतिक घट्नाक्रमले उनीहरु ‘पर्ख र हेर’को अवस्थामा रहेको बुझिएको छ । यदि एमालेमा कुनै परिवर्तन आएन र ओली र उनको गुटको मात्रै दबदबा रहिरहेमा रामबहादुर थापा ‘बादल’बाहेक अन्य सबैले एमाले छाड्ने बताइएको छ । उनीहरुले एमाले छाड्ने अवस्थामा बादल बाहेक सबै माओवादीमा फर्कने वा अन्य पार्टीमा मिसीने भन्नेमा छलफल गरिरहेको स्रोतले बतायो ।
यीमध्ये केही नेताको भेटघाट जसपा नेताहरुसँग पनि भइरहेको छ । यो बीचमा जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई केही नेताले टेलिफोन र भेटेरै छलफल गरेको बुझिएको छ ।