पार्टी एकढिक्का भएर अधि बढ्न एमालेको कार्यदलको १० बुँदे सहमति
काठमाडौं । नेकपा एमालेको विवाद समाधान कार्यदलले पार्टी एकताका लागि १० बुँदे सहमति गरेको छ । सिंहदरबारमा आइतबार करिव १४ घण्टा बसेको बैठकले पार्टी एकताका लागि सहमति जुटाएको हो ।
बैठकपछि एमाले नेता भीम रावलले १० बुँदे सहमति भएको जानकारी गराए । यो एक ऐतिहासिक निर्णय भएको रावलको तर्क थियो ।
एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सहमति पत्र वाचन गर्दै पार्टीभित्रको विवाद आन्तरिक विधि र पद्धतिअनुसार हल गरिने बताए । बैठकले २०७५ जेठ २ गतेको कमिटीमा फर्कने र नेकपा हुँदा एमालेका नेता जुन कमिटीमा थिए त्यसैमा कायम हुने लगायतका सहमति गरेको समेत उनले जनाए ।
पार्टीको अन्तर्विरोध पार्टीभित्रै हल गर्ने विषयमा पनि सहमति भएको बताउँदै ज्ञवालीले सबै संगठनहरु अब २०७५ जेठ २ गतेअघिकै अवस्थामा फर्कने जानकारी दिए ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले निरन्तर प्रतिगामी कदम चाल्दै आएको भन्दै माधव नेपाल पक्षका नेताहरु लामो समयदेखि असन्तुष्ट छन् ।
उनीहरु पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग बढी नजिकिएका छन् भने विपक्षी काँग्रेससँग मिलेर ओलीको विरुद्धमा लाग्दै आएका छन् ।