एमाले कार्यदलको बैठक, सहमति भए आजै संयुक्त वक्तव्य आउने
काठमाडौं । नेकपा एमालेभित्रको विवाद समाधान गर्नका लागि गठन भएको कार्यदलको बैठक सुरू भएको छ ।
बैठक सिंहदरवारमा सुरू भएको हो । बैठकअघि शुक्रबार बिहानैदेखि दुई पक्षका कार्यदल सदस्यहरु अनौपचारिक छलफलमा जुटेका थिए ।
आजको बैठकमा नेता भीम रावल र विष्णु पौडेलले तयार पारेको सहमतिको मस्यौदामा छलफल गरेर अन्तिमरूप दिने कोसिस हुने नेताहरूले बताएका छन् ।
आज बस्ने कार्यदलको बैठकमा सहमति जुटेपछि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता हुने र दुई नेताबाट संयुक्त वक्तव्य जारी हुन सक्ने सम्भावना रहेको कार्यदलका एक सदस्यले बताए ।
कार्यदलकै पहलमा बुधबार साँझ एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालीबच होटेल मेरियटमा वार्ता भएको थियो । वार्ता निष्कर्षविहीन भएको थियो ।
गत जेठ २ गते गठन गरिएको कार्यदल बीचमा निष्क्रिय भएको थियो । असार २० गते एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेता तथा उपाध्यक्ष भीम रावलबीच भेटवार्ता भएको भोलिपल्टदेखि नै कार्यदल पुनः सक्रिय भएको छ । कार्यदलको बैठक सोमबारदेखि लगातार बस्दै आएको छ ।
कार्यदलमा एमाले संस्थापन पक्षबाट संयोजक सुवास नेम्वाङसहित, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् भने नेपाल पक्षबाट नेताहरु संयोजक रावल, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।