आजपनि एमाले कार्यदल बैठक बस्दै

निरन्तर न्यूज
२४ असार २०७८, बिहीबार १२:३१

काठमाडौं । नेकपा एमाले विवाद समाधान गर्न गठित कार्यदलको बैठक बिहीवार पनि बस्दैछ ।

सोमबारदेखि कार्यदल बैठक निरन्तर बसिरहेको भएपनि कार्यदलले ठोस निष्कर्ष निकाल्न सकेको छैन । यद्यपी कार्यदलले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको भेटवार्ता गर्ने वातावरण भने निर्माण गरेको छ । बुधवार दुई नेताबीच भेटवार्ता भएको थियो । दुई नेता बीचको बुधवारको भेटवार्ता सकारात्मक भएको दाबी नेताहरुले गरेका छन् ।

नक्सालस्थित होटेल मेरियटमा भएको वार्तामा विवाद समाधान खोज्न गठित कार्यदलका केही सदस्यले हालसम्मको सहमतिको प्रयासबारे ब्रिफिङ गरेका थिए । त्यसपछि ओली र नेपालबिच अलग–अलग वार्ता भएको थियो । भेटवार्ताबाट बाहिरिएपछि अध्यक्ष ओली र नेता नेपालले पत्रकारहरुलाई कुनै प्रतिक्रिया भने दिएनन् ।

वार्तामा सहभागी पार्टीका उपाध्यक्ष डा भीमबहादुर रावलले पार्टीको एकतालाई प्रभावकारी परिणामा लाने सम्बन्धमा गम्भीररुपमा कुराकानी भएकाले शीर्ष तह र कार्यदलमा निरन्तर छलफल गरेर समाधान निकालिने बताएका थिए । वार्तामा रावल लगायत कार्यदल सदस्यहरु ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, विष्णुप्रसाद पौडेल र सुरेन्द्र पाण्डे पनि सहभागी थिए ।

शीर्ष नेताबीच गत जेठ २ गतेको सहमतिमा १० सदस्यीय कार्यदल गठन भएको थियो । सो कार्यदलको बुधवार सिंहदरबारमा भएको बैठकले प्राप्त परामर्शका आधारमा तयार गरिएको सहमतिको मस्यौदालाई शीर्ष तहमा प्रस्तुत गर्ने समझदारी भएको थियो ।

पार्टीका शीर्ष र दोस्रो तहका नेताबीच भएको अनौपचारिक छलफललाई व्यवस्थितरुपमा सहमतिमा परिणत गर्न तनि दिन अघि कार्यदलको बैठक पुनः शुरु भएको हो । पार्टीका अध्यक्ष केपी शर्मा ओली महाधिवेशन आयोजक कमिटी विघटन गराई नेता नेपाललगायत नेतामाथिको कारबाही फुकुवा गराई २०७५ जेठ ३ गते अगाडिको साङ्गठनिक स्थितिका आधारमा सञ्चालन गर्न तयार भएपछि सहमतिको वातावरण बनेको बताइएको छ ।

एमालेको केन्द्रीय कमिटीको १३ औं बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका र प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायरमा संलग्न पार्टीका २३ सांसद्बाट गरिएको हस्ताक्षर फिर्ता गर्न निर्देशन दिएको थियो । नयाँ प्रधानमन्त्री चयन प्रक्रिया सफल हुन नसकेपछि गत जेठ ८ गते प्रतिनिधिसभा दोस्रो पटक विघटन भएपछि एमालेको कार्यदल निस्क्रिय भएको थियो ।

कार्यदलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली पक्षबाट नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल, विष्णु रिमाल छन् भने नेता माधवकुमार नेपाल पक्षबाट डा रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्णराज विष्ट र रघुजी पन्त छन् ।

बुधवार बसेको कार्यदल बैठक पछि प्रतिक्रिया दिदैँ कार्यदल सदस्य नेम्वाङले बिहीवारको बैठकबाट सहमती हुने दाबी गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*