माधव नेपालले छोड्दैमा एमाले दुब्लाउँदैन : प्रधानमन्त्री ओली
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेभित्रको विवाद मिल्नुको सट्टा झन् बढ्दै जान थालेपछि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको नाममा अब कसैलाई पर्खन नसकिने जनाउ दिएका छन् ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भन्दै हस्ताक्षर गर्ने एमाले नेताहरुले सोमबारसम्म पनि हस्ताक्षर फिर्ता नलिएपछि अब पलायन हुन खोजेकालाई पार्टी एकताको नाममा फिर्ता ल्याउन नसकिने उनको भनाइ थियो ।
एमाले केन्द्रीय समितिको पछिल्लो बैठकले देउवाको पक्षमा हस्ताक्षर गर्ने निवर्तमान सांसदहरुलाई सोमबारसम्म हस्ताक्षर फिर्ता लिने समय दिएको थियो । तर, हस्ताक्षरकर्ता माधव नेपालसहितका सांसदहरुले भने अदालतमा गइसकेको विषय अदालतबाटै छिनोफानो नहुँदासम्म हस्ताक्षर फिर्ता लिन नसकिने बताउँदै आएका छन् ।
यसैबीच आफुनिकट नेताहरुको अनौपचारिक छलफलमा अध्यक्ष ओलीले माधव नेपाल वा अरु कसैले छाडेर जाँदैमा नेकपा एमाले दुब्लाउने वा पार्टीको साइज घट्ने कल्पना समेत गर्न नसकिने बताए । उनले कोही कसैलाई माओवादीको प्रचण्डपथ प्यारो लागेको छ वा काँग्रेसको पछि लागेर एमाले ध्वस्त बनाउन सकिन्छ र आफुले ठुलो भाग खान पाईन्छ भन्ने लागेको भए त्यो सपना मात्र हुने चेतावनी समेत दिए ।
‘यदि कसैले एमाले सिध्याउँछु भनेर कसम खाएको छ भने त्यो मनको लड्डु खाए बराबर हो’ ओलीले व्यंग्य गर्दै भने, ‘अस्ति नै प्रचण्डसँग लड्डु बाँडेर खाँदा के भयो, देख्नु भएन ?’
माधव नेपाल र झलनाथ खनाल पक्षले वार्ताको नाममा दुईजना केटालाई पार्टी एकताको डम्फु बजाउँदै गर भनेर पठाउने र आफुहरु प्रचण्डपथमा लागेर प्रधानमन्त्रीको पुत्ला जलाउँदै हिँड्ने गरेको भन्दै एमाले छाडेर पनि त्यही पार्टीको वरिष्ठ हुू भन्दै हिँड्नेका कुनै पनि कुरा एमालेलाई मान्य नहुने बताए ।
उनले माधव नेपालतर्फ संकेत गर्दै भने, ‘पार्टीको बैठकमा आउने हिम्मत नहुने, प्रधानमन्त्रीले बोलाउँदा बालुवाटार आउन सक्तिन भन्ने अनि नाथुराम गोड्से खोज्दै बुढानिलकण्ठ र प्रचण्डपथ भन्दै खुमलटार धाउनेलाई एमाले हूँ भन्न लाज हुनुपर्ने होईन ?’
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भएका आफुनिकट नेतालाई एमाले अध्यक्ष ओलीले अब माधव नेपालसँग पछि लागेर प्रचण्डपथमा हिँड्ने साथीहरुलाई छाडिदिनुहोस्, कसैको फोन उठाउन, भेटघाट गर्न पनि जरुरी छैन भनेर निर्देशन दिएको स्रोतको दाबी छ ।
प्रधानमन्त्री ओलीले माधव–झलनाथले छाडेर गएपछि एमाले झन् शक्तिशाली पार्टी हुने ठोकुवा समेत गरे । सातवटै प्रदेशमा कार्यकर्ता उत्साही रहेको र जनताले पनि एमाले नै शक्तिशाली पार्टी भएको हेर्न चाहेको खबर आफुले पाएको ओलीको भनाइ थियो ।
पार्टीका नेता कार्यकर्तालाई निराश नहुन भन्दै उनले कसैले छाडेर जाँदैमा एमाले दुब्लो हुँदैन बरु झन् मोटाउँछ समेत भन्न भ्याए । आउने चुनावमा एमाले नै देशको ठुलो पार्टी हुने र पूर्ण बहुमतको सरकारको नेतृत्व गर्ने पनि उनको दाबी थियो ।
प्रधानमन्त्रीले एमाले सिध्याउन माओवादीको प्रचण्डपथले मात्रै सकिँदैन भन्ने लागेर बुढानिलकण्ठतिर नाथुराम गोड्सेको खोजी भइरहेको र माधव कमरेडले समेत एमाले सिध्याउन म सक्छु भन्ने कसम खाएर हिँडेको समेत भने ।
उक्त अनौपचारिक भेलामा प्रधानमन्त्री ओलीले ‘एमाले कसरी ठुलो पार्टी बन्दैछ ?’ भन्ने बारेमा समेत खुलेरै नेताहरुलाई ब्रिफिङ गरेका थिए । जनयुद्धका कमाण्डर रामबहादुर थापासहित माओवादीको एउटा शक्ति एमालेमा आइसकेको, मधेशको ठुलो समूह एमालेमा जोडिन चाहेको, काँग्रेस, जसपा र राप्रपाभित्रका देशभक्त र राष्ट्रवादीहरु पनि बेलैमा एमाले नै हुनुपर्ने रहेछ भन्दै प्रवेश गर्न पाए हुन्थ्यो भन्ने खबर आफुकहाँ आइरहेको कुरा पनि ओलीले सुनाए ।
‘माधव कमरेडले छोडेर गए भने एमालेको भविष्य के हुने हो भन्ने तपाईहरुलाई चिन्ता होला, तर मलाई चाहिँ छाडेर गए राम्रै हुन्थ्यो भन्ने भइसक्यो’, प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै स्रोतले बतायो ।