जननेताको ७० औँ जन्मजयन्तीमा शालिक अनावरण
हेटौँडा । स्वर्गीय जननेता मदन भण्डारीको ७० औँ जन्मजयन्तीको अवसरमा आज हेटौँडामा मदन भण्डारी तथा जिबराज आश्रीतको शालिक अनावरण गरिएको छ । मकवानपुरको हेटौंडा–९ स्थित दिव्य बालउद्यानमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जननेता मदन भण्डारी तथा आश्रितको अर्धकदको शालिक अनावरण गरी माल्यार्पण गरेका हुन् ।
नेकपा एमालेका महासचिव जननेता मदन कुमार भण्डारीको ७० औं जन्मजयन्तीको सम्झनामा सोमबार पार्क व्यवस्थापन समितिले एक कार्यक्रमको आयोजना गर्दै प्रमुख अतिथि मुख्यमन्त्री डोरमणि पौडेलद्वारा शालिकको अनावरण गरेका हुन् । अनावरणपछि मुख्यमन्त्री डोरमणि पौडेलले पार्कमा वृक्षरोपण समेत गरेका थिए ।
पार्कमा ६ लाख ५१ हजार रुपैयाँ लागतमा निर्माण गरिएको पानीको फोहरा (वाटर फाउन्टेन) निर्माण गर्न आर्थिक सहयोग प्रदान गर्नुभएका गोर्खा लाहारीका प्रवन्ध निर्देशक बजरंग सिंहले सो फाउन्टेन पार्क व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका थिए। पार्क व्यवस्थापन समितिका अध्यक्ष तथा हेटौंडा–९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल लगायत वडाका समाजसेवी तथा राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।