नेता पौडेल पक्षबाट सभापतिका आकाङ्क्षी ६ जना भन्दा बढि
काठमाडौं । नेपाली कांग्रेस पौडेल समूहमा आधा दर्जनभन्दा बढी सभापतिका आकाङ्क्षी देखिएका छन् । शुक्रबार रामचन्द्र पौडेलले बोलाएको आफू पक्षीय नेताको छलफलमा आधा दर्जनभन्दा बढी नेताले सभापतिमा आफ्नो दाबी प्रस्तुत गरेका हुन् ।
सभापितमा दाबी गर्नेहरुमा पौडेलसहित महामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला, सुजाता कोइराला, शेखर कोइराला, कल्याण गुरुङ, अर्जुननरसिंह केसीलगायत नेता छन् ।
सो क्रममा नेता पौडेलले आफू स्वाभाविक सभापतिको उम्मेदवार रहेको बताए । ‘म स्वभाविक सभापतिको उम्मेदवार हो । मेरो दाबी रहन्छ नै’ पौडेलले भने, ‘सबै साथीहरुले सभापति बन्ने आकाङ्क्षा राख्नुभएको छ यस्तोमा हाम्रो समूहबाट सहमति गरेर जानुपर्छ ।’
काङ्ग्रेस सभापति शेरबहादुर देउवा र नेता विमलेन्द्र निधिले यसअघि नै आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारका रुपमा आफूलाई अघि सार्ने घोषणा गरिसकेका छन् ।
महाधिवेशन मिति नजिकिएसँगै नेपाली काङ्ग्रेसमा सभापतिको उम्मेदवार दाबी गर्ने नेताको संख्या दैनिक बढ्न थालेको छ ।