उपेन्द्रकाे हस्ताक्षर दुरुपयोग गरेकाे आराेपमा महन्थमाथि मुद्दा दर्ता हुँदै
काठमाण्डाैँ । जनता समाजवादी पार्टी (जसपा) का कार्यकारी अध्यक्ष उपेन्द्र यादवलगायतको हस्ताक्षर दुरुपयोग गरेको आरोपमा महन्थ ठाकुरमाथि मुद्दा दर्ता हुने भएको छ ।
जसपाबाट निष्कासित ठाकुरले अर्कै प्रयोजनका लागि गरेको हस्ताक्षरको दुरुपयोग गरेको आरोपमा जसपाले उनीविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो ।
जसपा अध्यक्ष यादवको तर्फबाट अधिवक्ता दिपक राईलगायतका अधिवक्ताहरुले मुद्दा दर्ताको लागि तयारी सुरु गरेका छन् ।
अर्काे प्रयोजनको लागि पहिले नै भएको हस्ताक्षर महन्थ ठाकुरलगायतले दुरुप्रयोग गरेर निर्वाचन आयोगमा पेस गरेको राईले आरोप लगाए । उनी जसपा निकट वकिलहरुको संगठन सङ्घीय कानून व्यवसायी संघका अध्यक्षसमेत हुन् । राईका अनुसार कीर्ते जालसाक्षी लिखतसम्बन्धी कसुरमा ठाकुरविरुद्ध जिल्ला अदालतमा मुद्दा हाल्ने बारे तयारी सुरु गरिएको छ । राईले भने –‘‘यस्तो कसुर चाहिँ दुनियावादी फौजदारी मुद्दाको रूपमा दर्ता मिल्छ यही अनुसार दर्ता गर्न लागेका छौँ । यसमा विपक्षी महन्थ ठाकुरलाई नै बनाइन्छ ।’
जसपामा सङ्घीय परिषदश् अध्यक्ष बाबुराम भट्टराईसहित अध्यक्ष यादव र अशोक राईलगायत संस्थापन पक्षले यसअघि नै जसपाको आधिकारिकता दावी गर्दै निर्वाचन आयोगलाई पत्र बुझाइसकेको छ ।