सभामुख सापकोटाले गरे बाढीग्रस्त मेलम्ची क्षेत्रकाे स्थलगत अवलोकन

निरन्तर न्यूज
२ असार २०७८, बुधबार २१:५२

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज सिन्धुपाल्चोक जिल्लाको बाढीग्रस्त मेलम्ची क्षेत्रमा पुगेर स्थलगत अवलोकन गरेका छन् ।

हिजो साँझदेखि मेलम्ची र इन्द्रावती नदीमा आएको भीषण बाढीले पुर्‍याएको क्षतिबारे स्थलमार्गबाट इन्द्रावती करिडोरको अवलोकन गर्दै मेलम्ची पुगेका सभामुख सापकोटाले यस सम्बन्धमा मेलम्ची नगरपालिका प्रमुख र सम्बद्ध पक्षसंग विस्तृत जानकारी लिएका छन् । नगर प्रमुख डम्बर अर्यालले अहिले सम्मका उद्धार, राहत र भए गरेका कामबारे सभामुखलाई संक्षिप्त जानकारी दिएको सभामुख सापकोटाको सचिवालयले जानकारी दियो ।

मेलम्ची नगरपालिकामा भएको छलफलमा सभामुख सापकोटाले बाढीपछि अवरुद्ध फोन, इन्टरनेट लगायतका सूचना तथा सञ्चार क्षेत्र, विद्युत र सडकहरु तत्काल सुचारु गर्न संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा कार्य अघि बढाउनुपर्ने बताए । उनले उद्धार कार्य र बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिंदै आफ्नो तर्फबाट आवश्यक पहलकदमी लिने प्रतिवद्धता व्यक्त गरे । सभामुख सापकोटाले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर उद्धार, राहत, विस्थापितहरुको अस्थायी बसोवास एवं पुनस्र्थापनाको काम अघि बढाउन सबैमा अपिल गरेको सभामुख सापकोटाको प्रेस विज्ञ श्रीधर न्यौपानेले बताए ।

सभामुख सापकोटाको प्रमुख आतिथ्यतामा नगरपालिकामा भएको सर्बपक्षिय छलफलबाट बाढीका कारण पीडामा परेका नागरिकलाई तत्काल राहत वितरणलगायतका कार्य गर्न जिसस प्रमुख कृष्ण गोपाल तामाङको संयोजकत्वमा ‘इन्द्रावती मेलम्ची क्षेत्र प्राकृतिक विपद् व्यवस्थापन मूल समिति’ गठन भएको सभामुख सापकोटाको प्रेस विज्ञ न्यौपानेले जानकारी दिए ।

बाढीबाट विस्थापितहरुलाई तत्काल राहतका लागि सभामुख सापकोटाको पहलमा उपलब्ध भएका खाद्यान्न लगायतका राहत सामग्री उनको उपस्थितिमा आजै नवगठित ‘इन्द्रावती मेलम्ची क्षेत्र प्राकृतिक विपद् व्यवस्थापन मूल समिति’ लाई हस्तारन्तरण गरिएको छ । समितिले बाढी पीडितका लागि प्राप्त भएका र आगामी दिनमा प्राप्त हुने सबैखाले राहत सामग्री एकद्वार प्रणालीबाट वितरण गर्ने निर्णय गरेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*