थाहानगरलाई जसपाकाे सुझाव : जनसहभागितासहितका कार्यक्रमहरु मात्र गर्नु
थाहा । जनता समाजबादी पार्टी (जसपा) ले थाहा नगरपालिकाबाट हुने हरेक कार्यक्रमहरुको आयव्यय विवरण स्पष्ट गर्नुका साथै प्राकृतिक स्रोत साधनको संरक्षण र बाह्य निकासी बन्द गर्न सुझाव दिएको छ ।
मकवानपुरकाे उत्तरी क्षेत्रमा रहेकाे थाहा नगरपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्याक्रमको लागि बिभिन्न राजनीतिक दल संघ- संस्थासाग सुझव मागेपछि जसपाले जनसहभागितासहितका कार्यक्रमहरु मात्र गर्न सुझाव दिइएको छ ।
आज बुधबार जसपाका थाहा नगरका प्रतिनिधि इन्द्रबहादुर श्रेष्ठले नगर उपप्रमुख खड्ग गोपालीमार्फत् सुझाव दिएका हुन् ।
सुझाव पत्रमा जसपाले नगरमा परम्परागत कृषि प्रणालीलाई विस्थापित गर्दै आधुनिक कृषि प्रणालिको अवलम्बन गर्न, युवा लक्षित कृषि उत्पादन बजारिकरण तथा आधुनिकिकरण, कृषि उपज प्रोत्साहन कार्यक्रमको लागि जोड दिनुपर्ने सुझाव दिइएको छ ।
त्यस्तै सुझावमा स्वास्थ्यतर्फ कोरोना भाईरस नियन्त्रणलाई प्रमुख प्राथमिकता दिदैँ प्राथमिक स्वास्थ्य चौकीलाई आधुनिक उपकरणसहित आवश्यक जनशक्तिको व्यवस्था मिलाउन माग गरेको छ । सुझावमा सरकारद्धारा तोकिएको १५ शैय्या अस्पताललाई तत्काल निर्माण गर्ने नीति लिन पनि भनिएको छ ।
सुझाव पत्रमा पर्यटन शाखाको स्थापना गरी थाहानगरको पर्यटन प्रवद्र्धनमा जोडिनु पर्ने जनाएको छ । नगरका सबै विद्यालयहरुलाई प्रविधि मैत्री बनाउन आवश्यक रहेको औंल्याउँदै सम्पूर्ण विद्यार्थीहरुको पहँुचमा इन्टरनेट सेवा प्रदान गर्न दुरसंचार सस्थानको इन्टरनेटलाई विस्तार गर्न पहल गर्न सुझाएको छ ।
स्वच्छ खानेपानीको समस्या रहेकोले पानीको मुहान संरक्षण कार्यक्रम बनाउन जोड गरेको छ ।
खेलकुद सम्बन्धि कार्यक्रमलाई व्यवस्थापन गर्न सम्भावित खेल मैदानहरुलाई छनौट गरि खेलकुदमा पूर्वाधार निर्माणको लागि आवश्यक बजेटको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।
सुझावपत्रमा त्रिभुवन राजपथ र कुन्छाल कुलेखानी सडक तथा भित्री सडकहरु अतिक्रमण गरि घरटहरा बनाउने कार्य संचालित हुँदा ती कार्यहरु तत्काल रोक्नतर्फ नगरलाई ध्यानाकर्षण गराइएको छ ।
यसैगरी, नगरको सम्पूर्ण पुर्वाधार निर्माण कार्यको सुक्ष्म अनुगमन गर्न नगरमा कृयाशील अन्तरपार्टीलाई समावेस गरि अधिकार सम्पन्न अनुगमन समिति बनाउन पनि माग गरेको छ ।