निबर्तमान मुख्यमन्त्री गुरुङले भने : ओलीकाे दबाबमा निष्ठा त्याग्ने मान्छे परिन
पोखरा । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफू केपी ओलीले दबाब दिएकै कारण निष्ठा त्याग्ने मानिस नभएको बताएका छन् ।
गुरुङले सरकारी निवास छाड्नु अघि पत्रकारहरुसँग कुराकानी गर्दै आफू कसैको दबाबमा पनि निष्ठा छाड्ने मान्छे नभएको बताएका हुन् । ‘प्रदेश सभा ५ वर्ष चल्नुपर्छ भन्ने मान्यता राखेको मान्छे हुँ, ओलीको दबाबले पृथ्वीसुब्बाले आफ्नो निष्ठा त्याग्दैन,’ उनले भने । केपी ओलीले जति सुकै दबाब दिएपनि निष्ठा नत्याग्ने उनको भनाइ थियो ।
त्यस्तै पत्रकारसँग कुरा गर्दै गुरुङले विपक्षी गठबन्धन लामो समय नटिक्ने समेत दाबी गरेका छन् । ‘पूर्व, पश्चिम, उत्तर, दक्षिण सबैतिरको मिलेका छन्, मुख्यमन्त्रीका लागि, प्रधानमन्त्रीका लागि,’ गुरुङले भने, ‘यो गठबन्धन लामो जाओस् र सरकार चलाउन् भन्ने आशा छ । तर लामो समय जाँदैन ।’ हालको गठबन्धनअप्राकृतिक भएको पनि उनको भनाइ थियो ।
साथै, गुरुङले अब पार्टीको विवाद समाधानमा समेत लाग्ने बताएका छन् । ‘अब २४ सै घण्टा पोखरामा बस्नु पर्दैन म, केन्द्रीय पोलिटिक्समा अब भूमिका खेल्ने समय मिलेको छ,’ उनले भने । आफ्नै पार्टीका केही नेताहरुका कारण मुलुकको राजनीतिको कोर्स फेरिएको पनि गुरुङको आरोप थियो ।
‘दहीझैं जमेर बसेको राजनीतिमा कागति निचोरेर फालेजस्तो गरे, अर्को दलको नेतालाई प्रधानमन्त्री बनाउँछु भनेर हस्ताक्षर नगरेको भए यो गठबन्धन बन्थेन,’ नेपाल-खनालहरुलाई संकेत गर्दै गुरुङले भने ।
गुरुङले पत्रकारसँग कुराकानी गर्दै दीपक मनाङेले धोका दिएको पनि बताएका थिए । आफ्नै सहयोगमा सांसद पद जितेर आएका मनाङेलाई वाल्मिकी बनाउन नसकेको भन्दै उनले भने- ‘सबै डाँकु वाल्मिकी नहुँदो रहेछ, धतुरोको बोट आँगनमा हुर्काएर अमृत दिँदैन, उसले पोलिटिक्स सिक्न छ,’ गुरुङले भने, ‘चुनाव जिताएर ल्याएको मैले नै हो, एमालेमा प्रवेश गराएको मैले नै हो, यो भन्दा ठूलो धोका के हुन्छ ?’