दिल्लीमा रेल सेवा पुन: सन्चालनमा, पसल खाेल्न जाेर बिजाेर प्रणाली
एजेन्सी । कोरोना भाइरसको दोस्रो लहरका कारण अस्तव्यस्त भएको दिल्लीमा संक्रमणको दर घटेसँगै मेट्रो रेल सेवा पुनः सञ्चालनमा ल्याइएको हो ।
कोरोना संक्रमण बढेपछि लगाइएको लकडाउन बिस्तारै खोल्ने क्रममा गत १० मे मा रोक लगाइएको मेट्रो सेवा फेरि शुरु गरिएको हो ।
यद्यपि, अहिले भने ५० प्रतिशत मात्रै यात्रु राखेर चलाउन अनुमति दिइएको छ । जोर बिजोर बार पारेर पसलहरु पनि खोल्न दिइएको तर सुरक्षाका उपायहरु भने पालना गर्नुपर्ने मुख्यमन्त्री अरविन्द केजरीवालले जनाएका छन् ।
दिल्लीमा गत अप्रिलमा दैनिक १० हजार नयाँ संक्रमित फेला परेकोमा आइतबार ३८१ जनामा मात्रै सङ्क्रमण फेला परेको जनाइएको छ ।
विगत २४ घण्टामा भारतभर एक लाख ६३६ जनामा संक्रमण देखिँदा दुई हजार ४२७ जनाको मृत्यु भएको छ ।
भारतमा कुल कोभिड सङ्क्रमितको सङ्ख्या अहिलेसम्ममा दुई करोड ८९ लाख पुगेका छ भने तीन लाख ४९ हजारभन्दा बढी सङ्क्रमितको मृत्यु भएको छ ।
कतिले लगाए खोप ?
भारतमा कुल २३ करोड २७ लाखलाई खोप लगाइसकिएको छ ।
भारतमा २३ करोडभन्दा बढी व्यक्तिलाई खोप लगाइएको प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार बताएका हुन् ।
सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, ‘भारतसँग स्वदेशमा नै निर्मित दुई खोप छन् । अहिलेसम्म मुलुकमा २३ करोडभन्दा बढी खोपको व्यवस्था गरिएको छ । खोप आपूर्ति आउने दिनमा बढ्ने छ । त्यसैगरी देशका सातवटा कम्पनीले बिभिन्न खोपहरू उत्पादन गर्दैछन र तीनवटा खोप परीक्षणको अन्तिम चरणमा छन् ।’
कस्तो छ संक्रमणको अवस्था ?
भारतमा आइतबार १ लाख ६३६ जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको छ । कोरोना सङ्क्रमितको यो संख्या ६१ दिनयताको सबभन्दा कम हो । हाल भारतमा कोरोना सङ्क्रमितको संख्या २ करोड ९० लाख १० हजार ६११ पुगेको मन्त्रालय सोमबार जानकारी दिएको छ ।
त्यसैगरी भारतनमा कोरोना सङ्क्रमणको कारण ज्यान गमाउने व्यक्तिको संख्यामा सोचेजस्तो कमि नआए तापनि केहीयता यस प्रकोपको कारण ज्यान गुमाउने पनि केही कम भने भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ ।
भारतमा गत २४ घण्टामा २ हजार ४२७ जनाको मृत्यु भएपछि यहाँ कोरोनाबाट मृत्यु भएका व्यक्तिको संख्या ३ लाख ४९ हजार १८६ पुगेको छ । गत २४ घण्टामा भारतमा १ लाख ७४ हजार ३९९ जना सङ्क्रमित कोरोना मुक्त भएका छन् । यसैसँग भारतमा २ करोड ७१ लाख ५९ हजार ६०९ जना कोरोना मुक्त भएका छन् ।
हाल यहाँ १४ लाख १ हजार ६०९ जना सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा जुन ६ तारिखसम्म ३६ करोड ६३ लाख ३४ हार १११ जनाको कोरोना परिक्षण गरेको सरकारी स्रोतले जानकारी दिएको छ ।