दरबार हत्याकाण्डबारे छानबीन गरेहुन्छ : पूर्व राजा ज्ञानेन्द्र
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डबारे आफ्नो परिवारलाई लक्षित गरी हुने टिकाटिप्पणीप्रति दुःख व्यक्त गरेका छन् । उनले निर्वाचित सरकारलाई उक्त हत्याकाण्डबारे छानबीन गर्न चुनौती पनि दिएका छन् ।
सोमबार एक ट्वीट सन्देशमार्फत् उनले आफ्नै परिवारका सदस्यको हत्याको आरोप प्रत्यक्ष–अप्रत्यक्ष रुपमा लाग्ने गरेको भन्दै पीडा पोखेका हुन् । यस्ता आरोपहरुले आफूलाई मर्माहत बनाएको उनले ट्वीट सन्देशमा उल्लेख गरेका छन् ।
‘प्रत्यक्ष/परोक्ष विभिन्न भावभंगीमा हाम्रो परिवारमाथि हाम्रा प्रिय दाजु र उहाँको परिवारको अन्त्यका विषयमा भनिने कुराले हामीलाई निकै मर्माहत तुल्याउने गर्छ,’ उनले ट्वीट सन्देशमा लेखेका छन् ।
हत्याको छानबीन गर्ने अधिकार सत्तासिनहरुलाई हुने भन्दै उनको बुझाई छ । उनले अगाडि लेखेका छन्, ‘जनताको मत पाएका सत्तासिन व्यक्तिहरुलाई उहाँको हत्याको छानबीन गर्ने पूर्ण अधिकार छ ।’
तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुनेगरी दरबार हत्याकाण्ड भएको जेठ १९ गते २० वर्ष पुगिसकेको छ ।