बाबुरामले नेपाल पक्षलाई भने : ओलीको चुलामा बाक्लो दाल खाँदैमा अक्षम्य राष्ट्रघात माफ हुन्छन्
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमाले एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले गरेको पहलमाथि प्रश्न उठाएका छन् ।
प्रधानमन्त्री ओलीले पहिलोपटक ५ पुस ०७७ मा प्रतिनिधिसभा विघटन गरेपछि तत्कालीन नेकपाबाट छुट्टिएका वरिष्ठ नेता माधव नेपाल पक्ष अहिले ओलीले गरेको एकता पहलमा लोभिन नहुने आशय व्यक्त गरेका छन् ।
नेपाल पक्षलाई पार्टीको समानान्तर संगठन विस्तारमा सक्रिय रहेको आरोप लगाउँदै आएको संस्थापन पक्षले १० जेठ ०७८ मा नेपालसहित उनीपक्षका ११ पक्षका नेतालाई पाटीबाट निष्काशित गरेको थियो ।
त्यसयता पनि संस्थापन र नेपाल पक्षका दोस्रो तहका नेताहरु एमाले एकताका लागि निरन्तर सम्वादमा छन् । यसैबीच अध्यक्ष ओलीले पार्टी एकताको पहल गर्दै आइतबार राति ६ बुँदे आह्वान पत्र जारी गरेका छन् । जसमा ओलीले पार्टीलाई ०२ जेठ ०७५ मा पार्टीलाई फर्काउने उल्लेख गरेका छन् । जुन बुँदालाई नेपालप क्षले बटमलाइनकै रुपमा उठाउँदै आएको छ ।
नेपालपक्षले गर्दै आएको अडानमा अध्यक्ष ओलीले लचकता देखाएपछि एमाले एकता लगभग नजिक पुगेको छ । तर शुक्रबार मात्रै प्रधानमन्त्री ओलीसँग सत्तासाझेदारी गरेको जसपाकै संघीय परिषद् अध्यक्ष डा.भट्टराईले भने ६ महिनायता प्रतिगामी र असंवैधानिक कदम चल्दै आएका ओलीसँग नेपाल पक्ष मिल्न नहुने अडान राखेका छन् ।
‘एमाले कणहरूसँग जिज्ञासा स् तपाईंहरू सबै जेठ ३ मा फर्केर एउटै चूलामा बाक्लो दालसहित भातभान्सा गरेमा त्यस यता ओलीले गरेका २/२पटकका संसद विघटन, संवैधानिक अंगहरूको अवैध कब्जा, यति/ओम्नीलगायतका अर्बौंको भ्रष्टाचार, सांसद अपहरण, कोरोनापीडित लाखौंको विचल्ली, अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन् ?,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सामाजिक सञ्जालमार्फत प्रश्न उठाएका छन् ।