खनाल-नेपाल समूहका काेर टीम फुटाएर केहीलाई मन्त्री बनाउने तयारीमा ओली
काठमाडौं । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहमा विभाजन ल्याएर केहीलाई मन्त्री बनाउने गरी तयारी गरेका छन् । बालुवाटार स्रोतका अनुसार आइतबार ओलीले अगाडि सारेको ६ बुँदे अपिल त्यही कदमका लागि हो ।
ओलीको अपिललाई माधव नेपाल तथा झलनाथ खनाल समूहका फरक नेताहरुले फरक प्रतिक्रिया दिइरहेका छन् । खासगरी योगेश भट्टराईले ओलीको कदमलाई सकरात्मक भनिरहेका छन् भने रामकुमारी झाँक्री, बेदुराम भुसाल, अष्टलक्ष्मी शाक्यहरुले यसलाई एकता टार्ने प्रस्ताव भनेका छन् ।
नेकपा–एमाले जारी अन्तरसंघर्ष कसरी हल गर्ने भन्ने विषयमा नेपाल-खनाल समूहका केही नेताहरुले फरक धारणा राख्दै आएका थिए । यही मौकामा ओलीले नेपाल समूहका केही नेताहरुलाई मन्त्रीको प्रस्ताव गरिरहेको बुझिएको छ । उनले महत्वपूर्ण मन्त्रालयमा खनाल–नेपाल समूहलाई भित्र्याउने तयारी गरेका हुन् ।
कार्यदलमा भएको सहमति अनुसार नै प्रधानमन्त्री ओली जेठ २ मा फर्किन सहमत भएकाले अब मन्त्रीमण्डललाई पूर्णता दिन लागिएको ओली निकट एक नेताले जानकारी दिए । पार्टी जेठ २ मा फर्किएपछि अब समूह बाँकी नरहेको र एमालेका जुन नेतालाई मन्त्री बनाउँदा पनि हुने उनको तर्क छ ।
प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) का ८ मन्त्री र २ राज्यमन्त्री तथा पार्टीबाटै समेत गरी गत शुक्रबार मन्त्रीमण्डल पुर्नगठन गरेका थिए ।
महत्वपूर्ण मन्त्रालय गृह, रक्षा, सूचना तथा सञ्चार सहित ७ मन्त्रालय भने प्रधानमन्त्री ओलीले आफू मातहत नै राखेका थिए । ती मन्त्रालयमा प्रधानमन्त्री ओलीले खनाल–नेपाल समूहका नेतालाई ल्याउने तयारी गरेका हुन् ।